काठमाडौं- प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको टुंगो राष्ट्रियसभा सदस्यको निर्वाचनपछि लाग्ने देखिएको छ।
वाम गठबन्धनका दुवै दल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएकाले मुख्यमन्त्री छनोटको प्रक्रिया निर्वाचनपछि लाग्ने देखिएको हो। राष्ट्रियसभाको निर्वाचन माघ २४ मा हुँदै छ।
वाम गठबन्धनको सहमति अनुसार प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ। प्रादेशिक सरकारको नेतृत्व गर्न धेरै आकांक्षी देखिएपछि माओवादी केन्द्रले त्यसको निर्णय गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिएको छ। सहमतिको प्रयास सफल नभएपछि माओवादीले निर्वाचनबाटै प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो।
‘राष्ट्रियसभा चुनावको तयारीले गर्दा त्यतै केन्द्रित हुनुपर्दा दलको नेता चुन्ने विषयमा तत्काल निर्णय गर्न सकिएको छैन। निर्वाचन लगत्तै चयन हुनेछ’, नेता महेन्द्रबहादुर शाहीले नेपाल लाइभसँग भने।
मुख्यमन्त्रीका लागि पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच मुख्य प्रतिस्पर्धा छ।
पूर्व सांसद समेत रहेका शाही माओवादीका छैटौं डिभिजनका प्रमुख थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का निकट रहेका शाहीलाई मुख्यमन्त्रीको बलियो प्रत्यासी मानिएको छ।
उता एकता प्रक्रियाबाट माओवादीमा मिसिन आएका भण्डारी पार्टीभित्र अवसर नपाएका नेता भित्र पर्छन। केन्द्रीय राजनीतिमा नेता रामबहादुर थापाका नजिक रहेका भण्डारी मुख्यमन्त्री पाउने आश्वासनपछि प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए।
माओवादी केन्द्रका प्रदेश ६ का इञ्चार्ज शक्तिबहादुर बस्नेतले भने सहमतिबाटै मुख्यमन्त्रीको विषय टुंगो लगाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।