काठमाडौं– २०३० को दशकको नेपालको परिवेशमा बनाइएको 'पञ्चायत' फिल्मको ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फिल्मका लेखक तथा निर्देशक शिवम् अधिकारीले ५० वर्षअघि नेपालको सामाजिक संरचनाका साथै किशोरीहरुको यौन मनोविज्ञान र छाउपडी प्रथालाई ‘पञ्चायत’मा प्रस्तुत गरिएको बताए।
अभिनेता सरोज खनाल, अभिनेत्री नीता ढुंगानाको मुख्य अभिनय रहेको फिल्मको ट्रेलरमा पश्चिम नेपालमा रहेको परम्परागत रहनसहन र बोलीचाली प्रस्तुत गरिएको छ।
ट्रेलरमा अभिनेत्री नीतालाई १४–१५ वर्षकी किशोरीका रुपमा प्रस्तुत गरिएको छ भने शिक्षकको भूमिकामा रहेका अभिनेता खनाललाई गाउँलेले भगवानभन्दा बढी मान्ने 'ठूलो मान्छे'का रुपमा देखाइएको छ।
फिल्ममा सरोज र नीताका साथै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहन्वी बस्नेत, विशाल पहारी, लगायतको अभिनय छ।
आउँदो चैत २ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले यसअघि अमेरिकाको सनफ्रान्सिस्को इन्टरनेसनल फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट विदेशीभाषी चलचित्र र सर्वोत्कृष्ट नायिकाको अवार्ड प्राप्त गरिसकेको छ। फिल्मको प्रदर्शन विभिन्न देशका फिल्म फेस्टिभल तथा युरोपका शहरमा भइसकेको निर्देशक अधिकारीले जानकारी दिए।
टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।