काठमाडौं– नेपाललाई ट्रान्जिट बनाएर वन्यजन्तुका अंग तस्करीमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। कंगोबाट ल्याइएको एक सय ६१ केजी सालकको खपटासहित दुई चिनियाँ नागरिक विमानस्थलमा समातिएका हुन्।
टर्की हुँदै नेपाल आएका क्यू जियोरानो र क्वी लेबाओ चार दिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरुबाट एक सय ६१ केजी सालकको खपटा बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए। ‘उनीहरुले ६ वटा सुटकेसमा सालकको खपटा राखेर टर्कीबाट ल्याएका थिए,’ सापकोटाले भने,‘एक्से चेकिङको क्रममा उनीहरु पक्राउ परेका हुन्।’
पक्राउ परेका उपर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला वन कार्यालय काठमाडौंले छानबिन अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान सालकको खपटा उनीहरुले कंगोबाट ल्याएको खुलेको छ। भन्सारमा उनीहरुले कछुवा भएको भन्दै ढाट्ने प्रयास गरेका थिए।
यसमा अन्तराष्ट्रिय गिरोह नै संलग्न रहेको आशंका गरेको छ।
नेपालको समेत जंगलमा पाइने सालकको चोरी शिकारी गरी खपटा चीनमा तस्करी हुँदै आएको छ। नेपाललाई ट्रान्जिट बनाएर चीन लैजान सजिलो हुने भएकाले उनीहरुले नेपाल हुँदै लैजान खोजेको प्रहरी आशंका छ।
यसअघि नेपाललाई ट्रान्जिट बनाएर अफ्रिकाबाट भारतमा चिम्पान्जि तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।