काठमाडौं- एटिएम ह्याक गरेर डकैती गर्ने चिनियाँ समूह पक्राउ परेपछि नेपालको बैंकिङ प्रणालीको सुरक्षा संवेदनशीलतासम्बन्धी ठूलो प्रश्न उब्जेको छ।
बैंकको प्रणाली नै ह्याक गरेर एटिएममार्फत् पैसा निकाल्ने गरेको घटना सार्वजनिक भएपछि नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसा निकाल्न आग्रह गरेको छ।
एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा त्यस्तो कारोबारमा सुरक्षा जोखिम धेरै हुने भएका कारण नेप्सले यस्तो आग्रह गरेको हो।
नेप्स बैंक तथा वित्तीय संस्थाका लागि इलेक्ट्रोलिक भुक्तानी सेवा दिने साझा प्लेटफर्म हो। हाल नेप्समा १८ वटा वाणिज्य बैंक आबद्ध छन्। डेढ दर्जन बैंकको एटिएम कार्ड सम्बन्धी होस्टिङ र स्वीचिङको सेवा नेप्सले दिइरहेको छ।
भदौ १४ गते शनिबार नेप्सका सदस्य बैंकका विभिन्न कार्डबाट र अन्य भिसा नेटवर्क अन्तर्गतका एटिएम मेसिनबाट अनधिकृत रूपमा प्रयोग भई नगद निकालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।