काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू-काश्मीरमा भारतले चालेको कदम उसको आन्तरिक मामिला भएको टिप्पणी गरेका छन्।
संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला भएको उनको भनाइ छ।
हिन्द माहासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुगेका मन्त्री ज्ञवालीले मंगलबार भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा यस्तो टिप्पणी गरेका हुन्।
‘संविधान परिवर्तन भारतीय सरकारको आफ्नै अधिकार क्षेत्र हो,’ मन्त्री ज्ञवालीले भने, ‘त्यसलै यसमा हाम्रो कुनै प्रतिक्रिया छैन।’
उनले नेपाल सरकार काश्मीर क्षेत्रमा बस्ने नेपालीबारे चिन्तित रहेको बताए। ‘हामी खुसी छौं किनकी उनीहरु सुरक्षित छन्,’ उनले भने, ‘नेपालको मुख्य चासो त्यस क्षेत्रमा काम गर्ने नेपालीबारे हो। उनीहरुको सुरक्षाका बारेमा हामीले भारत सरकारसँग निकट रहेर समन्वय गरिरहेका छौं।’
मन्त्री ज्ञवाललीले भारत र पाकिस्तानबीचको तनावमा कमी आउने आसासमेत व्यक्त गरे। ‘सार्क अध्यक्षको रुपमा हामी सबै सदस्य राष्ट्रलाई वार्तामार्फत विवाद समाधान गर्न आग्रह गर्दछौं,’ उनको भनाइ छ, ‘तनावलाई बढाउनु समाधान होइन। द्वन्द्व खराब विकल्प हो भनिराख्नु जरुरी होइन, जुन सबै राष्ट्रले हटाउनुपर्छ।’
भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै मन्त्री ज्ञवाली।
उनले यो क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न भारत र पाकिस्तानले वार्ता सुरु गर्ने आसासमेत व्यक्त गरे। ‘त्यसैले म आसा गर्छु त्यहाँ आसाको किरण हुनेछ, जसले तनाव घटाउनेछ। अनि यो क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न वार्ता सरु हुनेछ।’
गत ५ अगस्टमा नेरन्द्र मोदी नेतृत्वको सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मू-काश्मीरले यसअघि पाएको विशेष स्वायत्तता खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ।
यो विषयलाई पाकिस्तानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा समेत पुर्याएको छ भने दुई देशका सेनाबीच गोली हानाहानसमेत भएको छ।
भारतले भने यसलाई विशुद्ध आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ। यसबारे नेपालले अहिलेसम्म लिखित वक्तव्यमार्फत् कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
यसअघि परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले जम्मू-काश्मीर मामिलालाई ‘नजिकैबाट नियालिरहको’ प्रतिक्रिया दिएका थिए। २ भदौमा नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित 'प्रेस ब्रिफिङमा’ मन्त्री ज्ञवालीले यो मामिलालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए।
‘काश्मीरबारे द्विपक्षीय वार्ताबाट यो क्षेत्रमा शान्ति र स्थायित्व हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ मन्त्री ज्ञवालीको भनाइ थियो, ‘वार्ताबाट शान्ति कायम गर्ने प्रयत्नलाई हामी प्रोत्साहन गर्छौं।’
उनले नेपाल क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा उभिएको बताएका थिए। ‘हामी क्षेत्रीय शान्तिका पक्षमा छौं,’ ज्ञवालीको भनाइ थियो, ‘सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा पनि यही छ।’
हिन्द माहासागर सम्मेलनमा सम्बोधन गर्दै मन्त्री ज्ञवाली।
नेपाल-भारत संयुक्त आयोग बैठकमा भाग लिएर भारतीय विदेशमन्त्री एस जयशंकर दिल्ली फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीलले टेलिफोनमार्फत काश्मीर मामिलामाबारे जानकारी गराउँदै नेपालको भूमिकाको अपेक्षा गरेका थिए।
६ भदौमा मन्त्री ज्ञावलीसँग टेलिफोन वार्ता गरेका कुरैशीलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अध्यक्षका रुपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि काश्मीरको अवस्थालाई सहज बनाउन भारतलाई दबाब दिन नेपालले भूमिका खेल्नुपर्ने बताएका थिए।
पाकिस्तानी विदेशमन्त्रीको त्यस्तो आग्रहको प्रतिउत्तरमा मन्त्री ज्ञवालीले नेपालले जम्मू-काश्मीरको अवस्थालाई नजिकैबाट नियालिरहको र शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न निरन्तर आग्रह गरेको स्मरण गराएका थिए। (मुख्य तस्बिर- नेपाल लाइभ अर्काइभबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।