काठमाडौं– गत साउन २७ गते तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी भएपछि फरार भएका कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री अदालत उपस्थित भएका छन्।
खत्री बुधबार उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन्।
अदालतले उनलाई पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको झण्डै एक महिनापछि उनी अदालत उपस्थित भएका हुन्।
खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो।
कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतले ठहर गर्दै पक्राउ आदेश जारी गरेको थियो।
उच्च अदालतमा पेशी चढेका दिन खत्री सुर्खेतबाट काठमाडौं आएका थिए। उनी उक्त मुद्दाको सुनुवाइका दिन काठमाडौं आइपुगे पनि अदालतमा भने उपस्थित भएनन्। त्यसपछि अदालतले उनलाई पक्राउ गरेर तीन दिनभित्र बुझाउन भन्दै प्रहरी महानिरीक्षकसम्मलाई निर्देशन दिएको थियो।
खत्री सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सांसदका रुपमा विजयी भएका थिए। तत्कालीन एमालेको कोटाबाट उनी कर्णालीको भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका थिए।
यस प्रकरणमा अदालतबाट दोषी ठहर भएपछि उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदमुक्त गरिसकेका छन्।
सम्बन्धित समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।