भक्तपुर- तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ।
भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको शनिबार आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा कलाकार शर्मालाई नगद १० हजार एक रुपैयाँ र सम्मानपत्रसहित ‘ॐ ज्ञान मन्दिर सम्मान २०७४’ प्रदान गरिएको हो।
कार्यक्रममा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल रामप्रसाद सुवेदीले देशको सम्पत्ति र गहनाका रुपमा रहेका कलाकारलाई स्कूलले प्रत्येक वर्ष सम्मान गर्दै आएको बताए।
सम्मान ग्रहणपछि बोल्दै कलाकार शर्माले पछिल्लो समयमा रङ्गमञ्च फस्टाउँदै गएको र चलचित्रसमेत वर्षमा धेरैभन्दा धेरै निर्माण हुने भएकाले यसबाट कलाकारलाई बाँच्न पुग्ने अवस्था आएको धारणा राखे। चलचित्र क्षेत्रमा अहिले वार्षिक करोडौँको लगानी हुने गरेकोप्रति उनले खुशी व्यक्त गरे।
कार्यक्रममा विद्यालय तथा विद्यालय बाहिर भएका विभिन्न प्रतियोगितामा विजेता बनेका विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा गायिका कुन्ती मोक्तानदेखि विद्यार्थीसम्मले नाटक, गीत, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए।
विद्यालयले यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिकर्मी सत्यमोहन जोशी, गायक योगेश वैद्यलगायतलाई उक्त सम्मान प्रदान गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।