मुम्बई (एजेन्सी)– मुम्बईको अलीबागस्थित शाहरुख खानको भव्य बंगलामा राजस्व विभागले छापा हानेपछि घटनाले रोचक मोड लिएको छ। शाहरुखका चार्टर एकाउन्टेन्ट (सिए) ले अलीबागको बंगला खरिद गर्न नक्कली दस्तावेजको प्रयोग भएको पुष्टि गरेका छन्।
शाहरुखमाथि आरोप लागेको छ, उनले खेतीयोग्य जमिनमा गैरकानुनीरुपले बंगला निर्माण गरेका हुन्। शाहरुखका सिए मोरेश्वर अजगान्वकरले राजस्व विभागलाई जानकारी दिने क्रममा भनेका छन्, ‘त्यो जमिन नक्कली कागजपत्रको आधारमा खरिद गरिएको हो।’
बंगलामा प्राइभेट हेलिप्याटसहित पौडीपोखरी निर्माण गरिएको छ। सूचना अधिकारीले भारतीय पत्रिका इन्डिया टुडेलाई उपलब्ध गराएको सूचनामा भनिएको छ, ‘मोरेश्वर अजगान्वकरले शाहरुखको आज्ञाको पालना गरेका मात्र हुन्।’
उनले नक्कली दस्तावेज र राजस्व विभागले मात्र प्रयोग गर्ने कागज पनि गैरकानुनी रुपमा प्रयोग भएको स्वीकार गरेका छन्। शाहरुखले त्यो ठाउँमा १९९१ देखि नै बंगला भएको बताएका थिए। तर, गुगल अर्थ स्याटलाइटले २००३ सम्म त्यो स्थानमा कुनै बंगला नभएको पृष्टि गरेको छ।
शाहरुखको कम्पनी ‘देजा भू फर्म्स’ ले कम्पनी रजिस्टारसमक्ष बंगलाको लागि १६ करोड लगानी भएको देखाएको छ। तर, बंगला निर्माणका लागि ५० करोड खर्च भएको अर्को स्रोतबाट पत्ता लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।