बुटवल- रुपन्देहीमा निर्माण भएको सबैभन्दा अग्लो सरकारी भवनबाट प्रदेश नम्बर ५ को शासन व्यवस्था चल्ने भएको छ। बुटवलको गोलपार्क नजिकै बनेको ६ तले श्रम कार्यालयको भवनमा मुख्यमन्त्री सहितका चार मन्त्रालय रहनेछन्।
भर्खरै निर्माण सकिएको भवनको उद्घाटन समेत भइसकेको छैन। ६ तले टावरको चौथो र पाचौं तलामा मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय बस्नेछ। प्रदेश ५ मा ७ वटा मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएको छ। मुख्यमन्त्री सहित आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा बन मन्त्रालय ६ तले भवनमा राख्ने योजना छ। पहिलो, दोस्रो र तेस्रो तलामा यी मन्त्रालय राखिनेछन्।
सामाजिक विकास मन्त्रालय सिप विकास तालिम केन्द्रको भवन रामनगरमा रहनेछ भने भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ।
कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाटबजारमा रहनेछ। मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिव सहित २१ जना कर्मचारी हुनेछन्। मन्त्रालय व्यवस्थापनका लागि केही सचिवहरु समेत बुटवल आइसकेका छन्।
त्यस्तै मुख्यमन्त्री राजस्व अनुसन्धानको भवन बुटवलमा बस्नेछन्। सभामुख, ६ जना मन्त्रीसहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिनेछ। आवासका लागि अन्य भवनहरु पनि प्रयोग हुन सक्नेछन्।
प्रदेश प्रमुखको सचिवालय व्यापार संघमा राखिएको छ भने आवास सडक विभागको गेस्टहाउसमा छ। संसद सचिवालय र संसद भवन बुटवल उद्योग वाणिज्य संघको भवनमा छ। यी निजी संस्थाहरुले बनाएका भवनहरु सरकारी जग्गामा बनेका भाडा तिर्ने वा नतिर्ने विषयमा भने निर्णय भइसकेको छैन।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।