मुम्बई (एजेन्सी)- मिथुन चक्रवर्तीको अहिले बलिउडमा चिरपरिचित नाम छ । 'डिस्को डान्सर' यी हिरोले आफ्नो समयमा छुट्टै शैलीको फिल्मबाट वर्चश्व कायम गरेका थिए । तर, एउटा समय यस्तो पनि थियो, जतिबेला मिथुनले भोकभोकै बस्नुपर्ने अवस्था थियो र रेल्वे स्टेशनमा खुला आकाशमुनि सुत्नुपर्थ्यो।
अहिले उनी सोनी टिभीको कार्यक्रम ‘द ड्रामा कम्पनी’ मा देखिन्छन्, जहाँ उनको साथमा सानो पर्दाका कैयौं ठूला कमेडियन पनि छन् । कमेडियनहरुको प्रस्तुतिमा टेलिभिजनको पर्दामा हाँस्दै गरेका देखिने मिथुनको संघर्ष कम रोदनले भरिएको छैन।
पहिलो फिल्म खेलिसक्दा पनि भोकै-प्यासै
सन् १९७६ मा मिथुनको पहिलो फिल्म 'मृग्या’ आएको थियो । आदिवासीको विषयमा बनेको फिल्म बक्स अफिसमा असफल भए पनि यसले बेस्ट फिल्म र बेस्ट डाइरेक्सनको अवार्ड पाएको थियो । फिल्मबाट मिथुनले पनि राष्ट्रिय पुरस्कार पाएका थिए।
फिल्म प्रदर्शनअघि निर्माता राजेश्वर राव र निर्देशक मृणाल सेनले प्रचारक आरआर पाठकलाई भेटेर फिल्मको प्रमोसनको जिम्मा लिइदिन प्रस्ताव गरे।
निकै कम बजेटको फिल्मको प्रमोसन गर्न पाठक तयार भए । त्यसपछि मुम्बईको ब्लेज थिएटरमा पत्रकारहरुका लागि फिल्मको विशेष प्रदर्शन गरियो । प्रदर्शनपछि मिथुनले पाठकसँग भेटेर भने, ‘म निकै खराब हालतमा संघर्ष गरिरहेको छु । कृपया मलाई सहयोग गर्नुस् । मलाई खान-बस्न समस्या छ । कहिलेकाहीँ गौतम गुहाको घरमा बसे पनि बाँकी रात रेल्वे स्टेशनमा बस्दै आएको छु।'
मिथुनको अभिनयबाट प्रभावित भएका पाठकले सहयोग गर्ने वाचा गर्दै मिथुनलाई बिएन शर्मासँग भेट गराए । जसले मिथुनलाई आफ्नो नयाँ फिल्मका लागि साइन गराए । शर्माले मिथुनलाई साइनिङ अमाउन्ट नदिए पनि ५ हजार रुपैयाँको बन्ड दिए।
मिथुनले भने, ‘बन्ड मैले के गर्नु ? बरु मलाई केही रुपैयाँ दिनुस् । दुई दिनदेखि भोकै छु।'
तर, केही कारणवश त्यो फिल्म बन्न सकेन।
पाठकको साथले फाइदा
बिएन शर्माको फिल्म नबनेर आम्दानीको बाटो गुमे पनि मिथुनलाई फिल्म प्रवर्द्धक आरआर पाठकको साथले भने काम गर्यो । उनलाई पाठकले फिल्मको सेटमा लैजान्थे र निर्देशकहरुसँग भेट गराइदिन्थे । त्यस क्रममा उनको खानपिनको बन्दोबस्त पनि हुन्थ्यो।
यसै क्रममा श्री साउन्ड स्टुडियो पुग्दा फिल्म निर्माता रामराज नाहटाले पाठकको आग्रहमा मिथुनलाई दुई फिल्ममा काम दिए । जसमध्ये एक फिल्म चाँडै रिलिज भयो भने अर्को फिल्मको सुटिङ हुँदाहुँदै मिथुनले ७-८ फिल्मका लागि प्रस्ताव आयो।
यस बीचमा मिथुनले कैयौं फिल्म खेले । तर, १९८२ मा आएको फिल्म 'डिस्को डान्सर' बाट उनले ख्याति कमाए । बलिउडमा उनको नृत्यको शैली ब्रान्ड नै बन्यो।
आफ्नो मिहिनेतको बलमा सफलता
बलिउडमा ५० वर्षभन्दा बढी बिताएका आरआर पाठक भावुक हुँदै भन्छन्, ‘मिथुनले जसरी संघर्ष गरे, यस्तो कमै मान्छेले गर्न सक्छन् । उनी कसैको सहारामा नभई आफ्नो मिहिनेत र प्रतिभाको बलमा स्टार बनेका हुन् । मिथुनले आफ्नो यात्रामा मलाई कहिल्यै भुलेनन्, यसलाई म मिथुनको बडप्पन मान्छु।'
अहिले पनि कतै भेट हुँदा मिथुनले निकै सम्मानपूर्वक ‘पाठक दादा’ भनेर अभिवादन गर्ने गरेकोमा उनी खुसी मान्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।