काठमाडौं- सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि फिल्म हलमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ।
चलचित्र विकास बोर्ड लगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स फिल्म हलमा सो प्रणाली लागू हुने भएको हो।
चलचित्र विकास बोर्ड लगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आज सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भेटी सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकम लगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्ने लगायत विभिन्न माग गरेका थिए।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र घरमा, दोस्रो चरणमा काठमाडौं उपत्यकामा रहेका अन्य चलचित्र घरमा र अन्तिम चरणमा २०७५ माघ १ गतेदेखि उपत्यका बाहिर सञ्चालनमा रहेका चलचित्र घरमा सो प्रणाली लागू गर्ने योजना छ।
बक्स अफिस सिस्टम लागू गर्न सहमत भएसँगै चलचित्र व्यवसायीले सो सिस्टमलाई चलचित्रघर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकम लगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा वार्टर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्ने लगायत विभिन्न माग गरेका छन् ।
सो अवसरमा सञ्चारमन्त्री बस्नेतले चलचित्रको जाँच गर्ने सन्दर्भमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघको तर्फबाट केन्द्रीय चलचित्र जाँच समितिमा एक/एक जना प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गर्न आफू सहमत भएको बताए।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘बक्स अफिस म्यानेजमेन्ट सिस्टम’ लागू भएपछि चलचित्र व्यवसायबाट प्राप्त हुने व्यावसायिक सेयर, कर तथा शुल्कमा पारदर्शी हुने विश्वास व्यक्त गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।