काठमाडौं- सरकारले पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषयमा राजस्व बोर्डमार्फत छलफल अघि बढाउने भएको छ।
नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउन सक्ने विषयमा छलफल थालिएको र यो विषय राजस्व बोर्डमार्फत अघि बढाइने बताएका हुन्।
सन्तानलाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने विषयमा अर्थमन्त्री खतिवडाले दोस्रोपटक सार्वजनिकरूपमा मुख खोलेका हुन्। उनले यसअघि अघिल्लो महिना आन्तरिक राजस्व विभागले गरेको गोष्ठीमा पनि यो विषय छलफलमा ल्याइनुपर्ने बताएका थिए।
मन्त्री खतिवडाले उक्त करका विषयमा छलफल थालिएको भए पनि अहिलेसम्म दरबारे कुनै निष्कर्षमा नपुगिएको उल्लेख गरे। ‘यो करमा छलफल गरौं, यो ठीक हो कि होइन भनेर बहस गरौं भन्ने हो,' नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा उनलेे भने, 'यो बहसको सुरुवाती विन्दूमा छ, कुनै दरको विषयमा छलफल भएको छैन।'
पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषयमा संसारका धेरै देशले असल अभ्यास गरिरहेका खतिवडाले बताए। उनले त्यस्तै मोडलमा नेपालले पनि कर लगाउन सक्ने बताएका हुन्।
सामाजिक सुरक्षामाथि राज्यको दायित्व वर्षेनी बढ्न थालेपछि त्यसको आवश्यक स्रोतका रूपमा यो करलाई लिन खोजिएको छ। युरोपका कतिपय देश र अमेरिकाले पनि निश्चित थ्रेसहोल्डभन्दा माथिका सम्पत्ति हस्तान्तरणमा कर लिँदै आएका छन्।
यो पनि पढ्नुहोस्
पैतृक सम्पत्तिको हक हस्तान्तरणमा कर लगाउने सरकारको योजना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।