काठमाडौं- प्रदीप भट्टराईको डेब्यु निर्देशन थियो ‘जात्रा’। आफ्नो पहिलो फिल्म भएकाले उनले खुबै मेहनत गरे। निर्माणदेखि पर्दामा लाग्दासम्म उनी निरन्तर खटिइरहे।
जब यही फिल्मले ९ वटा अवार्ड पायो, त्यसबेला उनले सोचे- तनमन लगाएर गरिएको कामले सफलता पाउने रहेछ।
पछिल्लो समय उनी आफू निर्देशित दोस्रो फिल्म 'शत्रुगते'को पोस्ट प्रोडक्सन र प्रदर्शन तयारीमा जुटेका छन्।
'जात्रा फिल्म निर्देशनमा मैले जति मेहनत गरेको थिएँ, त्यसलाई दर्शकले मन पराइदिनुभयो,' उनले भने, 'अवार्डका लागि उचित ठानिएरै यस्तो निर्णय गरियो होला।'
उनको अनुभवले भन्छ, निर्देशन त्यति सहज काम होइन। फिल्मको कन्सेप्ट, स्क्रिप्ट, कास्ट, क्यामेरामेन, लोकेसन जस्ता सबै कुराको पूर्वतयारी र योजना बुनेर मात्र प्रवेश गरियो भने सफलता पाइने बताउँछन् उनी। 'निर्देशनका लागि यतिले मात्र पुग्दैन,' उनले भने, 'मानसिक रुपमा तयार भएर मात्र सुटिङमा जानुपर्छ।'
निरन्तर काम गरिरहे मात्र सफलता आफै प्राप्त हुन्छ भन्नेमा विश्वास राख्ने प्रदीप आफ्नो प्रोजेक्टलाई लिएर कहिले पनि तनाव लिँदैनन्। ‘प्रत्येक फिल्मलाई नयाँ सिराबाट तयार गर्नुपर्छ। स्क्रिप्टका साथै त्यहाँका पात्रलाई न्यान दिलाउन पनि पहिलेको भन्दा फरक तरिकाले सोच्नुपर्छ,' प्रत्येक निर्देशकका लागि हरेक फिल्म डेब्युका रुपमा रहने उनी बताउँछन्।
फिल्म ‘बेइमानी’ बाट एसिस्टेन्ट डाइरेक्टरका रुपमा काम सुरु गरेका प्रदीप त्यसपछि निरन्तर निर्देशनमै सक्रिय छन्।
निर्देशक नबन्नु भएको भए के बन्नुहुन्थ्यो होला?
‘विद्यालय उमेरमा म निकै तीक्ष्ण स्वभावको थिएँ। पछि काठमाडौं आएर वाणिज्य शास्त्र पढेँ,' उनी विगततर्फ फर्किए, 'त्यही पृष्ठभूमिले पनि म निर्देशक नभएको भए पक्कै बैंकर बन्थेँ कि।'
लेखन र निर्देशनबाट उनी निकै सन्तुष्ट छन्। आजसम्म जति अवार्ड उचालेका छन्, त्योभन्दा महत्वपूर्ण त भविष्यमा झन् कसरी राम्रो गर्ने भन्न लाग्छ उनलाई।
‘अवार्ड पाएपछि त गरेको कामको च्याप्टर क्लोज भइहाल्छ, त्यो त सकिएको कामप्रतिको मूल्यांकन हो,' उनी भन्छन्, 'तर आगामी कामका लागि थप जिम्मेवार र सक्रिय बनाउन भने यसले पक्कै प्रेरित गर्छ।’
स्क्रिप्ट बोकेर काठमाडौं
३४ वर्षअगाडि सर्लाहीका जन्मिएका प्रदीपले विद्यार्थी छँदा सोचेका थिएनन्, कुनै बेला निर्देशक बन्नेछु। 'तर समयसँगै काम गर्दै जाँदा सफलता पाइने रहेछ,’ उनी मुस्कुराउँदै भन्छन्।
अध्ययनका लागि सर्लाहीबाट काठमाडौं आएका प्रदीप सानै उमेरबाट फिल्मको स्क्रिप्ट लेख्न रुचाउँथे। एसएलसी पास गरेर घरैबाट १५० पेज लामो स्क्रिप्ट बोकेर काठमाडौं छिरेका थिए। स्क्रिप्ट लेखनबाटै फिल्मी दुनियाँमा छिरेका उनले कैयौं पाना यत्तिकै सिध्याए पनि। 'काठमाडौं छिर्दैगर्दा फिल्ममै केही गर्छु भन्ने सपना बोकेको थिएँ,' उनले भने, 'यहाँ आएपछि मैले सिक्दै गएँ। आज यो स्थानसम्म आइपुगेको छु।'
औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र मास उत्तीर्ण गरेका प्रदीपले फिल्म निमार्णकै लागि औपचारिक अध्ययन र तालिम नलिएको बताउँछन्। ‘मनमा सपना थियो। केही अवसर पाइयो पनि,' उनले भने, 'यसैको सदुपयोग गर्दै धेरै अग्रजसँग काम गरियो, त्यही कारण आजसम्म यही क्षेत्रमा टिकिरहेको छु।'
आजसम्मको सफलताको जस विशेषगरी उनले मह जोडीलाई दिएका छन्। किनकि जीवनको टर्निङ प्वाइन्टमा उनलाई हरिवंश आचार्यले मार्गदर्शन गरेका थिए। सामाजिक चेतनाका लागि एचआइभी एड्ससँग सम्बन्धित टेलीसिरियलका आचार्यले प्रदीपलाई आग्रह गरेका थिए। 'उहाँ जस्ता दिग्गज व्यक्तित्वको विश्वास जित्नकै लागि भए पनि मैले मेहनतपूर्वक काम गरेको थिएँ। त्यसमा सफल भएँ पनि,' उनी सुनाउँछन्।
उनले गौरीशंकर धुजुको मातहतमा मह जोडीसँग सहयोगी निर्देशकका रुपमा पहिलो गरे ‘टिकेको ३ मन्त्र’ नामक सिरियलमा। त्यसपछि उनी मह जोडीको छायाँमा १४ वर्षदेखि सँगै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।