हेटौंडा– प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा बिहीबार प्रदेशसभाको पहिलो बैठक बस्यो।
यो ऐतिहासिक बैठकको सुरुमा प्रदेशका ज्येष्ठ सदस्यको नाताले सभामुखको भूमिका निर्वाह गरेका ७२ वर्षीय डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए। पत्र सुनाइसकेपछि बैठकमा ८ जना प्रदेश सांसदले आफ्नो धारणा राखे।
संसदमा बोल्ने सांसदहरूले देशमा संघीयता कार्यान्वयन भइरहेका बेला सुशासन कायम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। आफ्नो धारणा राख्दै एमालेकी अष्टलक्ष्मी शाक्यले अब तीन नम्बर प्रदेशलाई समृद्घिको दिशातर्फ अघि बढाउन जुट्नुपर्ने बताइन्। उनले जनताले आफूहरूलाई दिएको मतको अवमूल्यन नहुनेगरी काम गर्ने बताइन्।

यस्तै, माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले देश विकासका लागि सबै मिलेर अघि बढ्नु आवश्यक भएकोमा जोड दिए।
मकवानपुरबाट विजयी भएका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले अहिले प्रदेशको अस्थायी मुकाम रहेको हेटौंडालाई नै स्थायी राजधानी कायम गर्नुपर्नेमा जोड दिए। वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौं–हेटौंडा द्रुतमार्ग पनि बनिरहेको अवस्थामा प्रदेश ३ को राजधानी हेटौंडा नै उपयुक्त भएको उनले बताए।
यस्तै, विवेकशील साझा पार्टीका रमेश पौडेलले मुलुक संघीयता कार्यान्वयनमा अघि बढिरहेकाले लोकतन्त्र विकासका लागि सबै केन्द्रित हुनुपर्ने बताए।
नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले देशमा सबै क्षेत्रको विकासका लागि सन्तुलित विकास गर्नुपर्नेमा जोड दिए। राप्रपा प्रजातान्त्रिककी रीना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रिता माझी र नयाँ शक्तिका प्रेमबहादुर तामाङले जनताको हित र प्रदेश विकासको चाहना सम्बोधन हुनेगरी लाग्नुपर्ने धारणा राखे।
सबै पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले धारणा राखेपछि सभामुख पौडेलले राखेको ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो। कार्यविधिमा ३० दफा र ४ अनुसूची छ।

यस्तै, ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको सञ्चालनका लागि चार सांसद रहेको समिति समेत बनाइएको छ। समितिमा रामेश्वर फुयाँल, शोभा शाक्य, घनश्याम दाहाल, गीता वाग्ले छन्।
प्रदेश ३ को संसदको ऐतिहासिक पहिलो बैठक प्रदेशसभा सभामुखको चुनाव माघ २७ गते दिउँसो ३ बजेका लागि तोक्दै समापन भयो।
प्रदेशसभाको बैठकका लागि क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सचिवालय स्थापना गरिएको थियो। बैठकमा भाग लिन मकवानपुरका साथै चितवन, धादिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा लगायत १३ जिल्लाबाट सांसद हेटौंडा आएका थिए।
यो प्रदेशमा एमाले, माओवादी केन्द्र, कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेमकिपा, विवेकशील साझा, नयाँशक्तिसहित ८ पार्टीका १ सय १० सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।