काठमाडौं- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन्।
प्रतियोगिताका लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले बिहीबार राजधानीमा गरेको कार्यक्रममा प्रतियोगीको नाम सार्वजनिक गरेको हो। कार्यक्रममा मिस इको २०१६ की विजेता नंग्मा श्रेष्ठ र २०१७ कि विजेता रोनाली अमात्यले मौनतालाई ताज लगाइदिँदै प्रतियोगिताका लागि शुभकामना दिएका थिए।
मौनताले १४ प्रतिस्पर्धीलाई पछि पारेर ‘मिस इको इन्टरनेसनल नेपाल २०१८’ को ताज जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा जान बाटो खुला गरेकी हुन्।
छनोट चरणमा लायन्स क्लब अफ काठमाडौंका पूर्व अध्यक्ष प्रकाश सिं कार्की, कुटुम्ब ब्यान्डका सदस्य राजु महर्जन, र्यापर निर्णय श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१६ की विजेता तथा फेसन डिजाइनर मञ्जु बञ्जारा ढकाल, मिस युनिभर्समा नेपालको पहिलो सहभागी नग्मा श्रेष्ठ लगायत निर्णायक थिए।
'मिस इको इन्टरनेसनल' आगामी अप्रिल १ देखि १५ सम्म इजिप्टमा हुँदै छ। प्रतियोगितामा मौनताले ८० राष्ट्रका सुन्दरीहरुसँग प्रतिस्प्रर्धा गर्नेछिन्।
सो प्रतियोगितामा यसअघि नेपालबाट २०१५ मा प्रिन्शा श्रेष्ठ, २०१६ मा नग्मा श्रेष्ठ र २०१७ मा रोनाली अमात्यले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।