काठमाडौं– भुवन केसीका लागि हिट फिल्म लेखेका ब्रजेश खनाल निकै समयपछि पुन: केसीसँग एउटै प्रोजेक्टमा आबद्ध भएका छन्। अनमोल केसीले अभिनय गर्ने आगामी फिल्म 'क्याप्टेन'को पटकथा लेखनका लागि केसीले खनाललाई जिम्मा दिएका हुन्।
आगामी दसैंअघि नै रिलिज गर्नेगरी फिल्मको घोषणा गरिसकिएको छ।
६ महिना अघिदेखि नै कुरा भइरहे पनि भरखरै मात्र कुरा टुंगिएको खनालले जानकारी दिए। पटकथा बापत उनले मोटो पारिश्रमिक रकम लिएका छन्। यसबारे जिज्ञासा राख्दा उनले भने, 'फिल्मको स्क्रिप्ट लेख्न भुवन दाइसँग सम्झौता भएको हो। अहिले काम भइरहेको छ, एक महिनासम्म काम सक्छु।'
उनले स्क्रिप्ट लेख्नका लागि ८ देखि १० लाख रुपैयाँ लिएको बुझिएको छ।
फिल्मका लागि स्क्रिप्ट नै पहिलो सर्त भएकाले निर्माताहरुले लेखकलाई बुझ्न सक्नुपर्ने उनले बताए। 'धरहरा बनाउनुछ भने पहिले त्यसको नक्सा बनाउनैपर्छ,' उनले भने, 'फिल्मका लागि पटकथा त्यस्तै नक्सा हो। पटकथा राम्रो भए फिल्म सफल हुन्छ।'
७० भन्दा बढी फिल्मको पटकथा लेखिसकेका खनालले यसअघि पनि केसीका 'करोडपति', 'नेपाली बाबु', 'म तिमीबिना मरिहाल्छु' जस्ता हिट फिल्मको स्क्रिप्ट लेखेका थिए। 'धेरै समयपछि उहाँले आग्रह गर्नुभयो,' खनालले भने, 'फेरि पनि हामी सँगै एउटै प्रोजेक्टमा आबद्ध भएका छौं।'
पटकथा लेख्नकै लागि उनी १२ दिन काठमाडौंबाहिर बसेका थिए।
यसैबीच, उनको नयाँ पुस्तक 'साइड हिरो' पनि प्रकाशन हुने भएको छ। 'यो आख्यानभन्दा भिन्न खालको हुनेछ,' उनले भने, 'एक चरणको काम सकिएको छ। पाठकहरुले चाँडै पढ्न पाउनुहुनेछ।' पुस्तकको अन्य विषयवस्तुबारे भने उनले खुलाएनन्। उनका 'यायावर' र 'जुनेली' उपन्यास प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।