मुम्बई (एजेन्सी)– दक्षिण भारतका चर्चित हास्य कलाकार ब्रम्हानन्दम बुधबार ६१ वर्षमा प्रवेश गरेका छन्। सन् १९५६ को फेब्रुअरी १ मा जन्मिएका ब्रम्हानन्दमको अगाडि बलिउडका सबै हास्य कलाकार यतिबेला फितलो साबित हुने गरेका छन्।
गजबको अभिनयका कारण उनी धेरै पल्ट महत्वपूर्ण पुरस्कारबाट पुरस्कृत पनि भएका छन्। ब्रम्हानन्दमले शिक्षक पेशाबाट आफ्नो करिअर सुरु गरेका थिए। अहिले उनको नाममा अभिनयको विश्व कीर्तिमान छ। ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा समावेश भएका उनीसँग धेरै प्रसंग पनि जोडिएको छ।
ब्रम्हानन्दम आन्ध्र प्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँका स्थायीवासिन्दा हुन्। फिल्ममा काम गर्नुअघि उनी तेलुगु लेक्चरर थिए। उनी अत्तिल्ली कलेजमा अध्यापनको काम गर्थे।
तर, उनलाई सानैदेखि अभिनयको सोख थियो। त्यसैले उनी विधार्थीकालदेखि नै अन्य कलाकारको अभिनयको नक्कल गर्थे।
उनी कलेजमा अध्ययन गर्दा एक पल्ट नाट्य प्रतियोगितामा उत्कृष्ट सह–नायकको अवार्डबाट सम्मानित भए। यसपछि उनलाई अभिनयको हुटहुटी जाग्यो। उनले नाट्यशालामा पनि काम गरे।
सन् १९८६ मा रिलिज भएको चिरन्जीवीको फिल्म ‘चन्ताबाबाई’ उनको डेव्यु फिल्म थियो। दुई दशक लामो आफ्नो फिल्मी करिअरमा उनले एक हजारभन्दा बढि फिल्ममा काम गरिसकेका छन्। सन् २००९ मा उनी भारतको ठूलो अवार्ड मानिने पद्म भुषणबाट सम्मानित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।