काठमाडौं- सर्वोच्च अदालतले रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ।
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय सरकारले गरेपछि सो विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए।
उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको हो। बिहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चको यो आदेशपछि रुकुम पूर्वको सदरमुकाम रुकुमकोट नै कायम हुने भएको छ।
सरकारले सदरमुकाम सार्ने निर्णय गरेको विरोधमा विगत ८ दिनदेखि रुकुममा आन्दोलन भइरहेको थियो। प्रमुख जिल्ला अधिकारीलाई समेत घेराबन्दी गरेर सदरमुकामका जनताले ८ दिनदेखि बन्द र हडताल जारी राखेकै बेला सर्वोच्चले यस्तो आदेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।