हेटौंडा- प्रदेश ३ को प्रदेशसभाको प्रथम अधिवेशन आज सुरु हुँदैछ। मकवानपुरको हेटौंडास्थित सभागृहमा दिउँसो १ बजेबाट अधिवेशन सुरु हुने भएको हो। बैठकका लागि बुधबार परीक्षण अभ्यास गरिएको थियो।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद ७२ वर्षीय डोरमणि पौडेलले गर्ने भएका छन्।
सभागृहमा कुर्सी सजावट, माइक व्यवस्था, प्रदेश सभामुख रहने स्थान र सचिवालयका सचिवहरु बस्ने कार्यकक्ष तोकिसकिएको प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिए।
प्रदेशसभाको अधिवेशनको प्रथम बैठकमा कार्यवाहक सभामुख डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले बोलाएको बैठकको पत्र, आन्तरिक कार्यविधिको प्रस्तावना र संवैधानिक रुपबाट सभामुखको निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने प्रदेश सचिवालयका सहसचिव डा रोजनाथ पाण्डेले जानकारी दिए।
प्रदेश ३ मा कुल १ सय १० जना सदस्य छन्। उनीहरु सबैका लागि बस्ने स्थान निर्धारण गरिएको, दर्शक ५० जना र सञ्चारकर्मीको लागि २५ स्थान छुट्याइएको संसद् सचिवलायले जनाएको छ। बाहिरी जिल्लाबाट आउने सञ्चारकर्मीको लागि संसद् परिषदभित्र डिस्प्लेमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको पनि सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।