नयाँ दिल्ली (एजेन्सी)– भारतमा फिल्मको कथावस्तुलाई लिएर विरोध गर्ने ट्रेन्ड सुरु भएको छ। भर्खरै रिलिज सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ को लामो विरोध सेलाउन नपाउँदै अर्को फिल्मलाई लिएर बबाल सुरु भएको छ।
‘पद्मावत’ २५ जनवरीमा रिलिज भएको थियो। अहिले ‘आमी’ नामक फिल्मको कथालाई लिएर विरोध सुरु भएको छ। फिल्म चर्चित लेखक कमला दासको जीवनीमा आधारित छ। तर, विरोधीहरूले फिल्मले ‘लभ जेहाद’ लाई समर्थन गरेको भन्दै विरोध सुरु गरेका छन्।
फिल्मको विरोध सुरु भएपछि यो प्रकरण अहिले केरलको उच्च अदालतसम्म पुगेको छ। अदालतमा दायर मुद्दामा भनिएको छ, फिल्ममा ‘लभ जेहाद’ लाई जानीबुझी बढाइचढाइँ गरिएको छ।
पत्रिका टाइम्स अफ इन्डियाले आफ्नो रिपोर्टमा उच्च अदालतका वकिल केपी रामाचन्द्रनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘माधविकट्टी इस्लाम बनेपछि केरलमा ‘लभ जेहाद’ सुरु भएको हो। ‘लभ जेहाद’ को गम्भीर प्रभाव अहिले पनि केरलको समाजमा देख्न सकिन्छ।’
अदालतमा मुद्दा दायर भएपछि सेन्सर बोर्डले फिल्मलाई तत्कालै सर्टिफिकेट उपलब्ध गराउन अस्वीकार गरेको छ।
फिल्ममा मञ्जु वारियरले मुख्य भूमिका निर्वाह गर्दैछिन्। यसका लागि पहिले विधा बालनलाई अफर गरिए पनि उनले विशेष कारणले गर्दा फिल्म खेल्न अस्वीकार गरेकी थिइन्। फिल्मको निर्देशन कमलले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।