काठमाडौं– नेपालमा फोर्ड गाडी आयात गरी बिक्री गर्दै आएको कम्पनी जिओ अटोमोबाइल्सले ग्राहकलाई ठगी गर्दै आएको भन्दै ठगी मुद्दा चलाउने निर्णय भएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार कम्पनीले ठगी गरेको निष्कर्ष निकाल्दै ठगी मुद्दामा कारबाही गर्न प्रहरीलाई पत्राचार गर्ने निर्णय गरेको हो।
कम्पनीले ४० प्रतिशतसम्म धेरै नाफा खाएर गाडी बेच्दै आएको विभागका अधिकारीले बताए। थापाथलीस्थित जिओ अटोमोबाइल्स प्रालिका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्न विभागले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ। उक्त कम्पनीका मेनेजर तेजकरण जैनलाई समेत उपस्थित गराई विभागले बयान लिएको थियो। बयान र कागजपत्रको आधारमा सो कम्पनीले ठगी गरेको पुष्टि भएको विभागका एक अधिकारीले बताए।
यसअघि विभागले मारुती सुजुकी र महिन्द्रा गाडीको बिक्रीमा ग्राहकलाई ठगी गरेको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ।
नेपालमा फोर्ड गाडी पनि २० प्रतिशतभन्दा धेरै नाफा लिएर बिक्री हुँदै आएको आफूहरुको अनुसन्धानमा देखिएको उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताए। २० प्रतिशतभन्दा धेरै नाफा लिएर कुनै पनि सामान बेचेमा कालोबजारी गरेको ठहर्ने कानुनी प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।