काठमाडौं- सर्वोच्च अदालतले एनसेलको सेयर कारोबारमा विवाद भए पनि लाभांश रकम विदेश लैजान तत्काल रोक्नू भनी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
एनसेलको सेयर कारोबारमा नेपालले पाउनुपर्ने ६० अर्ब लाभकर असुल नभए पनि लाभांश रकम विदेश लैजान अदालतबाटै अनुमति पाएपछि सो विरुद्ध सर्वोच्चमा दर्ता भएको मुद्दामा बुधबार एकल इजलासले कारण देखाऊ आदेश मात्र जारी गरेको हो।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ठूला करदाता कार्यालय, नेपाल राष्ट्र बैंक र सरकारसँग रकम विदेश लैजानुको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको छ। शाहीको एकल इजलासले एनसेलले हालेको मुद्दा पूर्ण इजलासमा संवैधानिक व्याख्याका लागि पेश भएकाले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो।
यसअघि आफ्नै एकल इजलासबाट असोज ३ गते एनसेल र रिनोल्ड्स होल्डिङले हालेको मुद्दामा पहिलो सुनुवाइमै शाहीले अन्तरिम आदेश जारी गरेका थिए। तर, शाहीले त्यस विरुद्ध हालेको सार्वजनिक सरोकारको मुद्दामा भने दुवै पक्षको छलफल गर्न आवश्यक भएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेका हुन्।
एनसेलका २० प्रतिशत सेयर होल्डर निरज गोविन्द श्रेष्ठले असोज २२ गते दायर गरेको मुद्दामा शाही र अर्का न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
एनसेल सम्बन्धी विवादमा शाहीको इजलासमा सुनुवाइ भएको चौथो मुद्दामध्ये अन्तरिम आदेश जारी नहुने यो एकमात्र रिट हो।
एनसेलले लाभांश वापतको २४ अर्ब ५० करोड रुपैयाँ विदेश लैजान राष्ट्र बैंकबाट अनुमति पाइसकेको छ। सर्वोच्चको बुधबारको आदेशपछि उसलाई बाँकी रकम लैजान सहज हुने देखिन्छ। असोज ३ गतेको अन्तरिम आदेश लगत्तै उसले दुई पटक गरी सो रकम लैजान अनुमति पाइसकेको छ।
आर्थिक वर्ष ०६९/७० र ०७०/७१ को लाभांश रकम लैजान यसअघि ठूला करदाता कार्यालयको पत्रको आधारमा राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले गत २६ असारमा लाभांश रकम रोक्का गरेको थियो। सर्वोच्चको आदेशपछि राष्ट्र बैंकले दोस्रो किस्तामा रकम लैजान गत आइतबार अनुमति दिएको थियो। एनसेलले पहिलो किस्तामा ८ अर्ब र दोस्रो किस्तामा १५ अर्ब ९० करोड रुपैयाँ लैजान अनुमति पाएको छ।
बैंकहरुमा तरलता अभाव भइरहेको तथा रकम लैजान मिल्ने वा नमिल्ने विषयको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन रहेको अवस्थामै राष्ट्र बैंकले लाभांश रकम लैजान अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।