काठमाडौं– फुलचोकीमा ७ दिनअघि हराएका जोन तामाङ बुधबार जीवितै भेटिएका छन्। फुलचोकीको खोंचमा खसेको फसेको अवस्थामा उद्धारकर्ता चन्द्र आले ,नेपाली सेना र प्रहरीले उनको उद्धार गरेको हो।
बच्चा जीवितै भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले बताए। ‘बच्चाको अवस्था राम्रो छ,’ उनले भने।
गत पुस ११ गते उनी स्कुलबाटै हिउँ खेल्न फुलचोकी गएका थिए। प्रिन्सिपल र ११ जना विद्यार्थी घुम्न गएकोमा फर्कने क्रममा तामाङ बेपत्ता भएका थिए।
लगातार ५ दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्र होइन सेना समेत परिचालन गरी सो क्षेत्रमा उनको खोजतलास गरिएको थियो। सातौं दिन उनी जीवितै भेटिएका हुन्।
थसिखेलस्थित शिक्षा सदन प्राविमा ५ कक्षामा अध्ययनरत तामाङका आफन्तले उनलाई कतै देखेमा प्रहरी तथा सञ्चारमाध्यममा खबर गरिदिन आग्रह गर्दै आएका थिए।
खोजतलासमा गम्भीरता नदेखाएको भन्दै तामाङका आफन्तले प्रहरी कार्यालयमा समेत नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।