रियाध, साउदी अरेबियामा थालिएको भ्रष्टाचार विरुद्धको अभियानले सार्थकता पाउन थालेको छ। अभियानअन्तर्गत आरोपितबाट हालसम्म जरिवाना तथा धरौटी गरी कुल १ सय ६ अर्ब अमेरिकी डलरभन्दा बढि रकम राज्य कोषमा जम्मा भएको छ।
मुस्लिम बाहुल्य मुलुक साउदी अरेबियामा भ्रष्टाचार विरुद्धको सो अभियानलाई पछिल्लो समय युवराज मोहम्मद विन सलमानले गती दिएका छन्।
गतवर्षको नोभेम्बरबाट सुरु भएको सो अभियानले साउदी नागरिक, धनाड्य, व्यवसायी तथा राजपरिवारका सदस्यहरुले गलत बाटोबाट आर्जन गरेको अकुत सम्पतिको बारेमा छानबिन गरिरहेको छ।
अभियानअन्तर्गत गएको नोभेम्बर ४ मा ३ सय ८१ जनालाई पक्राउ गरिएको थियो। साउदी अरेबियाका महान्यायाधीवक्ता शेख साउदी अस–मुजिबले दिएको जानकारी अनुसार अझै ५६ जना नजरबन्दमा छन्।

साउदीका विशिष्ट व्यक्तिहरुलाई नजरबन्दमा राखिएको रियाधस्थित सुविधासम्पन्न होटल रिर्ज काल्र्टन
अघिल्लो साता आफ्नो पूर्ण आर्थिक गतिविधि सरकारसमक्ष पेश गर्न राजी भएका करिब ९० जनालाई रिहाइ गरिएको तथा ९५ जना अझै हिरासतमा रहेको अस–मुजिबले जानकारी दिएका थिए। सो अवसरमा उनले छिट्टै नै ४० जनालाई जेलमुक्त गर्ने खुलासा गरेका थिए।
यद्दपि को-को व्यक्ति नजरबन्दमा छन् भन्ने हालसम्म सार्वजनिक गरिएको छैन। यसअघि रिहा भएका व्यक्तिहरुलाई हेर्ने हो भने राजपरिवारका सदस्य, मन्त्री तथा व्यवसायीहरु समेत नजरबन्दमा रहेको हुनसक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले लेखेका छन्।
केहिदिन अघिमात्रै स्वर्गिय राजा अब्दुल्लाका छोरा राजकुमार मितेब बिन अब्दुल्लाह रिहा भएका थिए।
त्यस्तैगरि अर्बपति व्यवसायी राजकुमार अलवलीद बिन तलाल र अलवलीद अल–इब्राहिमले आफ्नो गल्ति स्वीकार गर्दै रिहाइका लागि आवश्यक जरिवाना रकम बुझाउन राजी भएपछि उनलाई जेलमुक्त गरिएकाे थियाे।

साउदी राजकुमार अलवलीद बिन तलाल
राजकुमार अलवलीद बिन तलाल किंगडम होल्डिङका अध्यक्ष तथा ट्विटर, एप्पल, लिफ्ट तथा सिटी ग्रुपका सेयर होल्डरसमेत हुन्।
उनलाई करिव ८० दिन रियाधको सुविधासम्पन्न होटल रिर्ज काल्र्टनमा हिरासतमा राखेर सोधपुछ गरिएको थियो। हिरासतमुक्त हुने समयमा राजकुमार तलालले कुन किसिमकाे बन्दोबस्त मिलाए भन्ने खुलाइएको छैन।
राजकुमार तलालसँगै होटल रिर्ज काल्र्टनमा ११ जना राजपरिवारका सदस्य, एक दर्जनभन्दा बढि व्यवसायी तथा सरकारी अधिकारीलाई पनि नजरबन्दमा राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।