काठमाडौं- थप उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचार सुरु भएको छ।
सिंगापुरको नेसनल युनिर्भरसिटी हस्पिटलमा शुक्रबारदेखि प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन्।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहलाई उदृत गर्दै रिमालले यो प्रक्रिया अरु केही पटक गरिने ट्विटरमा उल्लेख गरेका छन्। सोही कारण प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिने भएको छ।
प्रधानमन्त्री ओली थप उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका थिए। प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा आधिकारिक सूचना बाहिर नआएको भन्दै आलोचना भएपछि उनकी निजी चिकित्सक डा शाहले बिहीबार विज्ञप्ति जारी गरी आधिकारिक जानकारी बाहिर ल्याएकी थिइन्।
डा शाहका अनुसार प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी रहेको छ। सोही एन्टिबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीको करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण भएको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।