देशभरसँगै काठमाडौँ उपत्यकामा पनि चक्रवात अर्नबको असर देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार चक्रवातको असरले काठमाडौँ उपत्यकाको आकाश पनि गएरातिदेखि नै बादलले ढाकेको छ।
‘आज दिनभर पनि साधारणतया बादल नै लाग्ने देखिएको छ’ , उनले भने बिहीबार बिहान भने, ‘हल्का वर्षा पनि हुने सम्भावना छ।’
यसैबिच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि एकैचोटि ३ डिग्री सेल्सियस बढेको छ।
मौसमविद् दाहालका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री सेल्सियस देखिएको हो।
‘हिजो (बुधबार) यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो’, उनले भने, ‘पछि बिहान ८:४५ बजेको अन्तिम मापनमा भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस कायम भएको थियो।’
आजको पनि वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ।
त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा भन्दा केही कम हुने सम्भावना हुन्छ। तर कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ आकाश खुला रह्यो भने घट्छ। यसको ठिक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।