नेपालगन्ज– निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण बाँकेको सिक्टा सिँचाइ आयोजनाको काम पटकपटक अवरुद्ध हुँदै आएको छ।
आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम थालिएको १९ महिनामा २ प्रतिशत मात्रै पूरा भएको छ। यसको जिम्मा कोस्टल/पप्पु जेभीले लिएको थियो। पप्पु कन्सट्रक्सन पर्सा क्षेत्र नम्बर ३ का सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हरिनारायण प्रसाद रौनियारको हो। यो निर्माण कम्पनी लागत मूल्यभन्दा निकै कम मूल्यमा ठेक्का लिने, गुणस्तहीन काम नगर्ने, समयमै काम नसक्ने कारण बदनाम छ।
नहर निर्माणको काम काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले तत्काल काम सुरु गर्न पटकपटक ताकेतागर्ने देखि पत्रिकामा सूचनासमेत प्रकाशित गर्यो। तर अटेर गरेपछि आयोजनाका कर्मचारीसमेत निर्माण कम्पनीको रबैयाबाट हैरान छन्।
निर्माण कम्पनीको हेलचेक्र्याइँले डुडुवा नहर निर्माणको काम सकिन अझै थप दुई वर्ष लाग्ने सम्भावना छ। यसबाट सुक्खा र खडेरीको मारमा परेका जनताले थप सास्ती खेप्नुपर्नेछ भने आयोजनाको लागत वृद्धि भई राज्यलाई व्ययभारको चाप पर्नेछ।
संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए। निर्माण कम्पनीले ढिलाइबारे दुई साता पहिले नै सिँचाइ विभागसँग राय माग्दै पत्रसमेत पठाएको थियो।
काम २ प्रतिशत मात्रै
निर्माण व्यवसायी हुँदै सांसद बनेका रौनियारले कोस्टल/पप्पु जेभी मार्फत कामको ठेक्का लिएका थिए।
यो कम्पनीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मुल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायतका काम गर्नेगरी ९८ करोड ८१ लाखमा ठेक्का लिएको थियो। २०७३ जेठदेखि निर्माण सुरु गरी २०७५ पुस ४ सम्म पूरा गर्ने सम्झौता भएको थियो।

अहिलेसम्म करिब ६५ प्रतिशत काम सकिनुपर्ने भए पनि करिब २ प्रतिशत मात्रै काम गरेर निर्माण कार्य रोकेपछि आयोजनाको काम अपलत्र परेको छ।
करिब १२ अर्ब ८० करोडको लागतमा २०७० माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको थियो। अहिले यसको खर्च १३ अर्ब ५० करोड भइसकेको छ।
कम्पनीले नहर निर्माणका लागि ढुंगा-गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, जग्गाको मुआब्जा वितरण समयमा नगरिएको कारण देखाउँदै उल्टै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ।
किसान सधैं खडेरीको चपेटामा
बाँकेको कुल खेतीयोग्य जमिनमध्ये करिब ७२ प्रतिशत क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा छैन। जसका कारण किसान बर्सेनि सुक्खा र खडेरीको चपेटामा पर्दै आएका छन्।
जिल्लाको ३४ हजार हेक्टर क्षेत्रमा वर्षभरि भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको आयोजना नै लथालिंग हुँदा किसान निराश हुन थालेको सिक्टा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए।
मुल नहर निर्माण भए पनि कम्पनीले काम रोकिदिँदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित छन्।
सिक्टा सिँचाइबाट हालसम्म पश्चिम क्षेत्रमा करिब ५ सय हेक्टरमा मात्रै सुविधा पुगेको छ। वर्षौं पुरानो डुडुवा नहरको संरचनाबाट मात्रै किसानको खेतमा नमुनाको रुपमा पानी पुर्याइएको छ।
बाँकेको करिब ३४ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ नेपाल सरकारले आफ्नै लगानीमा २०६३ माघबाट सिक्टा सिँचाइ आयोजना सुरु गरेको थियो। तर निर्माण कम्पनीले समयमै काम नगर्दा निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि बाँकेका जनता सिँचाइ सुविधा पाउनबाट वञ्चित भइरहेका छन्।
तनावमा इस्तियाक राई
डुडुवा नहर प्रणालीबाट सिँचाइ हुने स्थान बाँकेको क्षेत्र नम्बर २ मा पर्छ। सोक्षेत्रमा रौनियारकै पार्टी संघीय समाजवादी फोरमबाट इस्तियाक राई विजयी भएका छन्। यतिबेला आफ्नै पार्टीका रौनियारले समयमा काम नगर्दा राईलाई समेत समस्या परेका छन्।
'मैले रौनियारजीलाई काम नगर्ने हो भने छाडिदिनुस् भनेको छु,' राईले भने, 'यो क्षेत्रमा म निर्वाचित भएर आइसकेकाले अब पहल गर्नेछु।' निर्वाचनका बेला विकास आयोजनालाई प्राथमिकतामा राखी भोट मागेकाले अवरुद्ध आयोजना सञ्चालन गर्नु आफ्नो दायित्व भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।