काठमाडौं- एनसेलको कर विवाद सम्बन्धी हालसम्म सर्वोच्च अदालतमा पाँच थान मुद्दा दायर भएका छन्। चार थान एनसेलका कम्पनीहरुले दर्ता गरेको रिट छन् भने एक थान सार्वजनिक सरोकारकारको रिट दर्ता भएको छ।
यी मुद्दाहरुको पेशी एकै न्यायाधीशको इजलाशमा प्रधानन्यायाधीश गोपाल पराजुलीले तोक्दै आएका छन्। पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशको हुने भएकाले उनले एकै प्रकृतिका सबै मुद्दा आफू निकट न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशमा पटक–पटक तोक्दै आएका हुन्। शाही पराजुली प्रधानन्यायाधीश भएपछि उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्चको स्थायी न्यायाधीश भएका हुन्।
एनसेलका शेयर होल्डर कम्पनीहरु सिनर्जी नेपाल, सुनीभेरा क्यापिटलका निरजगोविन्द श्रेष्ठ, रिनोल्ड होल्डिङ्स र एनसेल आफैले हालेका मुद्दामा दोहोरो सुनुवाइ समेत भएका छन्। एनसेलविरुद्ध सार्वजनिक सरोकारमा दर्ताको भएको रिटको भने सुनुवाइ बुधबार हुँदैछ। यी मध्ये चार थान मुद्दा सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको इजलाशमा पेशी तोकिएको छ।
एनसेल विवादमा सबैभन्दा पहिला ट्रायल केसको रुपमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र यादवको कम्पनी सिनर्जी नेपाल पुगेको थियो। सिनर्जीको मुद्दा भावी प्रधानन्यायाधीश दीपकराज जोशीले पहिलो सुनुवाइमै अन्तरिम आदेश गरेका थिए। यीबाहेक सबै मुद्दा शाहीको इजालाशमा प्रधानन्यायाधीश पराजुलीले पेशी तोकेका छन् ।
एनसेल विवादमा दोस्रो मुद्दा निरज गोविन्द श्रेष्ठले असोज २२ गते दायर गरेका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको इजलाशले उनीहरुको मुद्दाको किनारा नलागेसम्म कर नलिनु भनी अन्तरित आदेश सुनाएको थियो।
एनसेलसँग शेयर जोडिएका दुई कम्पनीले अन्तरिम आदेश पाएलगत्तै एनसेल र रिनोल्डस असोज २ गते सर्वोच्च पुगे। त्यसको भोलिपल्ट असोज ३ मा न्यायाधीश शाहीकै इजलाशमा पेशी तोकियो। उनको इजलाशले रकम विदेश लैजान रोक्ने निर्णय गैरकानुनी भएको आदेश सुनायो।
एनसेलविरुद्ध पूर्व प्रशासकहरुले हालेको सार्वजनिक रिट पनि शाहीकै इजलाशमा पेशी तोकिएको छ। यो समेत गरी शाही चौथो पटक एनसेलको लाभांश विवादमा सुनुवाइ गर्दैछन्।
एकै विषयमा एउटै न्यायाधीशले सुनुवाइ नगर्ने न्यायिक परम्परा छ। तर पराजुलीले एनसेलका सबै मुद्दा शाहीकै इजलाशमा तोक्दै आएका छन्।
कुनै न्यायाधीशले जारी गरेको आदेशविरुद्ध दर्ता भएको निवेदन सोही न्यायाधीशको इजलाशमा हेर्नु न्यायाधीशको आचारसंहिता विपरीत मानिन्छ। तर पराजुलीले पेशी तोक्ने अधिकारको दुरुपयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।