काठमाडौं- इञ्जोए मुभिजको ब्यानरमा चलचित्र ‘फल्ट’को निर्माण हुने भएको छ। राजधानीको मण्डला नाटकघरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा बोल्दै पूर्व सभामुख तथा तथा एमाले नेता सुभास नेम्वाङले चलचित्र ‘फल्ट’लाई शुभकामना व्यक्त गरे।
नेता नेम्वाङले नेपाली राजनीति जस्तै चलचित्र क्षेत्रमा हुने उतारचढावलाई पनि आफूले नजिकबाट नियाल्ने गरेको जानकारी दिए। उनले चलचित्र उद्योगको स्थायीत्व र विकासमा आफुले सक्दो सहयोग गर्ने समेत बताए। नेपाली कलाकारले विदेशी चलचित्रमा कमाएको ख्यातीबाट आफू परिचित भएको स्मरण गर्दै नेता नेम्वाङले पाकिस्तानको कराँची जाँदा त्यहाँ शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको अनुभुति सुनाए।
सन्तोष काफ्लेको लगानी तथा सुवास जिसीको निर्देशनमा बन्न लागेको चलचित्र हो ‘फल्ट’। समाजमा आफुलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले पार्ने प्रभावलाई 'फल्ट'ले मुख्य विषयवस्तु बनाएको चलचित्रका निर्देशक जिसीले बताए।
कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र सामाजिक कथावस्तुमा रहेर निर्माण हुन लागेकोमा शुभकामना व्यक्त गरे।
चलचित्रमा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन गुरुङको प्रमुख भूमिका रहने छ। फागुनको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, वसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन रहनेछ।
इलाम, झापा, मोरङ र काठमाडौं लगायत स्थानमा छायांकन हुने चलचित्र २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।