काठमाडौं– दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक बलात्कार घटना रहस्यमय बन्दै गएको छ। पीडित भनिएकी युवती बेपत्ता भएपछि घटनाले थप जटिल बनेको हो।
घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी र इन्सपेक्टरमाथि छानबिन सुरु भइरहेका बेला युवती बेपत्ता भएकी हुन्। उनलाई युवकहरुले बन्धक बनाएको आशंका गरिएको छ।
घटनामा संलग्न भनिएका युवकहरुलाई समेत प्रहरीले पक्राउ गरेको छैन।
बलात्कार जस्तो गम्भीर मुद्दा आर्थिक चलखेलमा मिलाइएको भन्दै छानबिन सुरु भएको हो।वृत्तका डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि परिसरले छानबिन थालेको हो। इन्सपेक्टर ठकुरीलाई दरबारमार्गबाट हटाएर प्रहरी मुख्यालयले सोधुपुछ थालेको छ।
बिहिबार दरबारमार्गको ल्याण्डमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार भएको थियो। पीडित युवती उजुरी लिएर प्रहरीमा गएपनि प्रहरीले अनुसन्धान नगरी मिल्न दबाब दिएको थियो। अभियुक्तहरु पैसावाल भएकाले उनीहरुले पीडित किशोरी तथा प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेर केस मिलाएका हुन्।
युवती सम्पर्कमा नआएपछि अनुसन्धानमा समस्या भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले बताए।
घटनाबारे थाहा पाएपछि महानगरीय प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा सोमबार छानबिन समिति गठन गरेर छानबिन अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।