मुम्बई (एजेन्सी)– बलिउड नायिका जिया खानलाई आत्महत्याका लागि उकासेको भन्दै बलिउड अभिनेता सुरज पाञ्चोली विरूद्ध मुद्दा दायर गर्न अदालतले मंगलबार आदेश दिएको छ।
न्यायाधीश केडी शिरभाटेले भारतीय दण्ड संहिताको धारा ३ सय ६ अन्तर्गत २७ वर्षीय अभिनेता विरूद्ध मुद्दा दायर गर्न आदेश दिएको हो। पाञ्चोलीले आफू निर्दोष भएको दाबी गर्दै आएका छन्।
जिया खानले २०१३ को जून महिनामा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। त्यसअघि उनी दुई दिनसम्म सुरज पाञ्चोलीको घरमा थिइन्। उनी त्यही दिन बिहान घर फर्किएकी थिइन्।
सिबिआईले सोधपुछको क्रममा पाञ्चोलीले तथ्य लुकाएको र झुटो जानकारी दिएको आरोप लगाएको थियो। उनले पोलिग्राफी र ब्रेन म्यापिङ टेस्ट गर्न पनि अस्वीकार गरेका थिए।
आत्महत्याभन्दा अगाडि जियाले तीन पन्ना लामो पत्र लेखेकी थिइन्। जसमा उनले सुरजसँग नजिकको सम्बन्ध रहेको भन्दै शारीरिक दुर्व्यवहार र मानसिक उत्पीडन खेप्नुपरेको उल्लेख गरेकी थिइन्।
२०१३ को अक्टोबरमा जियाकी आमा राबिया खानले मुम्बई उच्च अदालतमा मुद्दा दायर गर्ने क्रममा आफ्नी छोरीलाई सुरजले आत्महत्या गर्न उक्साएको आरोप लगाएकी थिइन्। उनले यसको सिबिआईबाट छानबिन हुनुपर्ने माग गरेकी थिइन्। यसपछि सिबिआई सक्रिय भएको थियो। सुरज बलिउड अभिनेता आदित्य पाञ्चोलीका छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।