काठमाडौं- सर्वोच्च अदालतले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद-बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको निर्णय सुनाउने मिति तेस्रो पटक सारेको छ।
सर्वोच्च अदालतले अब यो मुद्दाको निर्णय सुनाउने मिति भदौ ९ गतेलाई तोकेको छ।
यसअघि दुईपटक फैसला लेखनको समय नपुगेको भन्दै पूर्ण इजलासले पेशी सारेको थियो। सर्वोच्च अदालतले साउन २१ गते निर्णय सुनाउने भने पनि त्यस दिनबाट साउन ३० गतेलाई सारेको थियो। साउन ३० पछि फेरि बिहीबारका लागि सारिएको मिति तेस्रोपटक सरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकारअन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन रहेको थियो। एनसेलले लाभकर छुट हुनुपर्ने दाबी गरेको थियो।
पछिल्लोपटक न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।