हेटौंडा- प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक तयारीको काम अन्तिम चरणमा पुगेको छ।
बैठक कक्षमा रंगरोगनदेखि मुख्यमन्त्री तथा अन्य कार्यालय तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए। माघ १८ गतेका लागि तोकिएको प्रदेशसभा बैठकका सभाहललाई व्यवस्थित बनाउनेदेखि अन्य सजावटका काम अहिले अन्तिम चरणमा भइरहेको छ।
'११० जना माननीयलाई व्यवस्थित ढंगले राख्न कुर्सी व्यवस्थापन र सभाहल आकर्षक बनाउने काम लगभग सकिएको छ' सचिव ज्ञवालीले भने, 'रंगरोगनदेखि कार्पेट राख्ने, पर्दा फेर्ने काम सकिएको छ। बुधबारसम्म रोस्टम बनाउने लगायत काम पूरा गर्नेछौं।'
साँघुरो सभाहलको स्वरुप नै परिवर्तन हुने ज्ञवालीले बताए। सभाहलमा निरन्तर बैठक भइरहने भएकाले यसलाई व्यवस्थित गर्ने काम सुरु गरिए पनि संसद् सचिवालयबाट अनुभवी जनशक्ति नआइपुगेकाले काम गर्नेबारे अन्योल रहेको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका प्रमुख सुदीप आचार्यले बताए।
प्रदेशस्तरीय कार्यालय रहने भएपछि केही सरकारी कार्यालय भाडाको घरमा सार्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए। उनका अनुसार, प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको छ।
मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ। अख्तियार भने आफ्नै नयाँ भवनमा सर्नेछ।
सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए। प्रदेशका सबै मन्त्रीको सामूहिक निवास भने हेटौंडा सिमेन्ट उद्योगको क्वार्टरमा हुने उनले बताए।
मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालयको निवासमा हुने भएको छ। तत्काल रहने सात मन्त्रालयका सचिवको सामूहिक निवास भने डिभिजन सडक कार्यालयको कम्प्लेक्समा रहने प्रजिअ बुढाले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।