काठमाडौं- हुन्डाई मोटर्सले उत्पादन गरेको कम्प्याक्ट एसयुभी सेगमेन्टको 'भेन्यू' नेपाली बजारमा सार्वजनिक भएको छ। दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईको नेपालका लागि अधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबार भेन्यू सार्वजनिक गरेको हो।
नेपालका लागि कोरियाका राजदूत पार्क योङ–सिक, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, ग्रुपकै कार्यकारी निर्देशक अन्जन श्रेष्ठलगायतले संयुक्त रुपमा हुन्डाई भेन्यू सार्वजनिक गरेका हुन्। यो गाडी हुन्डाईको नक्सालस्थित सोरुममा सार्वजनिक गरिएको हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ १० गतेबाट सुरु हुने अटो सोलाई लक्षित गरी यो मोडलका सवारी नेपाली बजारमा ल्याएको हो। कम्पनीले भेन्यूलाई तीन इन्जिन अप्सनमा बजारमा ल्याएको छ। यो कार मुख्यगरी ३५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरिएको कम्पनीको भनाइ छ।
इन्जिन
जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ। १.० लिटर कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पिएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ। सो इन्जिनमा ७ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन दिइएको छ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पिएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ। यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेस गरिएको छ। त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ।
डाइमेन्सन
३९ सय ९५ एमएम लम्बाई, १७ सय ७० एमएम चौडाई र १५ सय ९० एमएम उचाई रहेको भेन्यूमा ह्विलबेस २५ सय एमएमको दिइएको छ।
विशेषता
कारमा इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोललगायत विशेषता रहेका छन्। ड्यास बोर्डमा निकै स्टाइलिससँग सजाईएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले जो कोहीलाई लोभ्याउँन सक्छ।
हुन्डाईका महंगा गाडी कोना र सान्टाफेबाट प्रभावित भेन्यूको अगाडि चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ। गाडीको पछाडिको भाग आकर्षक र स्टाइलिस रहेको कम्पनीले दाबी गरेको छ। नयाँ डिजाइनको टेल ल्याम्पसमेत यो गाडीमा जडान गरिएको बताइएको छ।
भेन्यू भारतकै पहिलो स्मार्ट कनेक्टेड गाडीको रुपमा कम्पनीले ब्रान्डिङ गरेको छ। भेन्यू भारतमा सार्वजनिक भएको छोटो समयमा लोकप्रिय भएको थियो। यसमा उपलब्ध ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ। भेन्यूमा ३३ स्मार्ट कनेक्टेड विशेषता रहेको छ।
मूल्य
हुन्डाई भेन्यू १.२ लिटर पेट्रोल इन्जिनको मूल्य ३४ लाख ९६ हजार र ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ। त्यस्तै भेन्यू १.० लिटर पेट्रोल टर्बोको मूल्य ४१ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। भेन्यू १.४ लिटर भेरियन्टको मूल्य ४२ लाख ५६ हजार र ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।