काठमाडौं- माओवादी केन्द्रले प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ।
वाम गठबन्धनसँगको समझदारी अनुसार ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको नेतृत्वबारे हेडक्वार्टर बैठकबाट टुंगो लगाउने तयारी गरेको हो।
पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रले मुख्यमन्त्रीको टुंगो लगाउने बताइन्।
‘प्रदेशको कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रीय सचिवालय बैठकले मुख्यमन्त्री लगायत अन्य पदको विषयमा निर्णय गर्छ’, प्रवक्ता भुसालले नेपाल लाइभसँग भनिन्।
एमालेसँगको सहमति अनुसार माओवादी केन्द्रले दुई प्रदेशमा मुख्यमन्त्री पाउनेछ भने प्रदेश ४ र ५ सभामुख र १, ३, ६ र ७ नम्बर प्रदेशमा उपसभामुख पाउनेछ।
प्रादेशिक मन्त्रिमण्डलमा माओवादीले आफूलाई ३० र एमालेलाई ७० प्रतिशतको भागबन्डामा सहमति जनाइसकेको छ।
वाम गठबन्धनको अर्को घटक एमालेले भने मुख्यमन्त्री चयन गर्ने अधिकारी सम्बन्धित प्रदेशसभालाई नै दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।