बुटवल- प्रदेश नं ५ को पहिलो बैठक माघ २१ गते तोकिए पनि व्यवस्थापन तयारी भने सुस्त गतिमा छ।
बुटवल उद्योग वाणिज्य संघको सभाहललाई नै प्रदेश नम्बर ५ को पहिलो बैठक बस्ने स्थानका रुपमा तोकिएको छ। तर मंगलबारसम्म पनि यो भवनमा कुनै पूर्वाधार व्यवस्थापनको काम भएको छैन। न कुर्सी बनेका छन्, न त टेबल नै ल्याइएको छ। पूर्वाधार व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बने पनि समितिले तदारुकता नदेखाउदा संसद बस्ने कुर्सी व्यवस्थापनमा ढिलाइ भएको हो।
'पूर्वाधार निर्माणको कामै भएको छैन,' संसद बैठकको तयारीका लागि संघीय संसद सचिवालयबाट खटिएका सहसचिव सुरेन्द्र अर्याल भन्छन्, 'कसलाई के सिकाउने, अन्योल छ।'
समयमा काम सुरु नभएपछि पहिलो बैठक पनि सपथ ग्रहणमा जस्तै सामान्य कुर्सीमै बसेर हुने भएको छ।
सरकारले प्रादेशिक संरचनाको भवन व्यवस्थापनका लागि साढे ७ करोड रुपैयाँ विनियोजन गरेर निर्माणको जिम्मा भवन डिभिजन रुपन्देहीलाई दिएको छ। तर अहिलेसम्म संसद भवनसँगै अन्य कार्यालय राख्ने भवनको पूर्वाधार व्यवस्थापन भएको छैन। बैठक स्थलमा ‘साउन्ड सिस्टम’ व्यवस्थापनको काम पनि सुरु भएको छैन।
सञ्चार मन्त्रालयले चार दिनअघि दुई कर्मचारी पठाए पनि हल व्यवस्थापनको काम नभइसकेकाले उनीहरु अन्योलमै छन्। संसदका केही कर्मचारीहरु सोमबार साँझ बुटवल आएका छन्। संसद बैठकबारे प्रशिक्षण दिने कर्मचारी आए पनि सिक्ने कर्मचारी भने अझै आइसकेका छैनन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भने कार्यालय व्यवस्थापनको काम छिट्टै सुरु हुने बताए।
स्थायी प्रदेश मुख्यालयमा हालसम्म प्रदेश प्रमुखको कार्यालयमा तीन जना मात्रै कर्मचारी आएका छन्। बैठकमा के कसरी सञ्चालन गर्ने नियमावली समेत आइसकेको छैन।
प्रदेश नम्बर ५ मा ८७ जना सांसद छन्। बैठक बस्ने मिति तोकिएसँगै संसदहरु भने बुटवल आउने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।