राजविराज– नयाँ संविधानमा मुलुक ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनेर लेखिएको छ। तर, लोकतन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गरेका परिवारलाई भने यो व्यवस्था कागलाई बेल पाक्यो ‘हर्ष न विस्मात्’ झैं भएको छ। लोकतन्त्र, गणतन्त्रको आन्दोलनमा लड्दै नागरिक अधिकार प्राप्तिका लागि ज्यान गुमाएका परिवार जीवनमा औसत खुसी कहिले प्राप्त होला भनेर दिन गन्दै बसेका छन्।
दोस्रो जनआन्दोलनका प्रथम सहिद दशनलाल यादवका परिवारजनको मन निकै कुँडिएको छ। दुई धर्मपत्नीका चार छोरा छाडेर दशनले दोस्रो जनआन्दोलनका क्रममा २०६२ साल चैत २४ गते ५० वर्षको उमेरमा सहादत पाए। सदरमुकाम राजविराजमा निकालिएको मशाल जुलुसका क्रममा प्रहरीसँग झडप हुँदा उनको मृत्यु भयो। उनका जेठा छोरा अशोक भनिने विनोदकुमार यादव पनि २०५९ सालमा माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका थिए।
एकै परिवारबाट बाबु र छोराको सहादत हुँदा पनि बलिदानको कदर नभएको दशनकी पत्नी इनरवती देवी यादव बताउँछिन्।
‘पहिला छोरो मारियो, केही वर्षपछि उहाँ पनि बित्नुभो’, उनले भनिन्, ‘तर सरकारले हामीहरुको जीवनयापनका लागि सोचिदिएन।’
सहिदहरुकै सहादतको बलले अहिले आएको परिवर्तनमा नेताहरु सत्तामा पुगे पनि सहिद परिवारकै उपेक्षा हुँदा आफूहरुलाई दुःख लाग्ने गरेको दशनकी अर्की पत्नी बचिया देवीले बताइन्।
‘परिवारलाई कसरी पाल्ने भन्ने समस्या छ’, उनले भनिन् ‘उमेर पुगेका चार–चार वटा छोरा बेरोजगार भई बस्नुपर्दा केही उपाय नलागेपछि कान्छो छोरो योगेन्द्र मलेसिया पुग्यो।’
आफूहरु बेरोजगार भएर गुजारा चलाउन समस्या परेपछि राजधानी गएर नेताहरुको ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाएको माहिला छोरा सरोजको गुनासो छ।
‘नेतालाई गुनासो सुनाउँदा अहिले पार्टी सरकारमा छैन भन्छन्। पार्टी सरकारमा भएको बेला मन्त्रीलाई भन्यो, सचिवलाई भेट्नु भन्छन्’, उनले सुनाए, ‘हप्तौं काठमाडौं बस्दा पनि झुलाउने गरेपछि निराश भएर घर फर्किनुपर्यो।’
आफ्नो बुवा र दाजुले दिएको सहादत पार्टी र व्यक्तिका लागि नभई देशका लागि भए पनि सहिदलाई समेत नेताहरुले पार्टीको चश्माले हेर्ने गरेको सरोजको गुनासो छ।
‘बुवा र दाइले दिएको सहादत त देशका लागि हो नि’, उनले भने, ‘पार्टीमा जोडेर उहाँहरुको अवमूल्यन गरिन्छ।’
नेताहरुले आफूहरुका लागि नसोचिदिए पनि देशमा देखा परेको राजनीतिक उल्झन समेत सुल्झाउन नसकेको देख्दा अझैं विरक्त लाग्ने गरेको इनरवतीले बताइन्।
उनले भनिन्, ‘नेताहरुलाई देश र जनताभन्दा पनि आफ्नै चिन्ता रहेछ, निमुखा जनताको आवाज कसले सुन्ने?’ सांसदहरुले लडाइँ गरेरै आफ्नो भत्ता बढाएको स्मरण गर्दै उनले भनिन्, ‘तर सहिद परिवारले पेटभरि खान पाएका छन् कि छैनन्, कसले हेर्ने?’
सहिद परिवारलाई मासिक रुपमा दिइँदै आएको न्यूनतम रकममा समय अनुसार परिमार्जन नगरिँदा बढ्दो महँगीमा नुनतेल खर्च पनि नपुग्ने गरेको उनको दुःखेसो छ।
राजविराज नगरपालिका वडा नम्बर ९ मलेठकी शान्तिदेवी मेहताको अवस्था पनि उस्तै छ। बुढेसकालको सहारा जवान छोरो मारिएपछि उनलाई यतिबेला कान्छो छोराको पढाइ र परिवारको पालन–पोषणको चिन्ताले सताएको छ।

गत वर्ष २३ फागुनमा नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर उनका माहिला छोरा २५ वर्षीय सञ्जन मेहताको मृत्यु भएको थियो। कमाउने छोरा गुमाएपछि उनलाई पछिल्लो समय कान्छो छोरा सुनीललाई कसरी पढाउने भन्ने समस्याले छोपेको छ।
जेठो छोरो रञ्जन अलग्गै बस्ने गरेपछि माहिला छोरा सञ्जनले नै वृद्ध बाबुआमाको भरणपोषण र भाइको पढाइ खर्च जुटाउँदै आएका थिए। घरव्यवहार थेग्ने छोराकै मृत्यु भएपछि कान्छाको पढाइ खर्च जुटाउँदा अहिलेसम्म ५ कठ्ठामध्ये ३ कठ्ठा खेत बेच्नुपरेको शान्तिदेवीले बताइन्।
‘भएको ५ कठ्ठामध्ये ३ कठ्ठा छिमेकीलाई बेचेर छोराको पढाइ खर्च जोहो गरियो’, उनले भनिन्, ‘बाँकी २ कठ्ठा बाहेक अब अरु कुनै जायजेथा छैन।’
गुजारा चलाउन आयस्रोतको अर्को विकल्प नहुँदा शान्तिदेवी भन्छिन्, ‘कम्तीमा कान्छाको पढाइ खर्चको चिन्ता गर्नु नपरे हुन्थ्यो।'
२३ फागुनको मलेठ घटनामा सञ्जनसहित वीरेन्द्र महतो, पिताम्बर मण्डल, इनरदेव यादव र आनन्द साहको मृत्यु भएको थियो। ती सहिदका परिवारको आर्थिक अवस्था पनि शान्तिदेवीको भन्दा फरक छैन।
यति मात्र होइन, सप्तरीमा अधिकार प्राप्तिका लागि बलिदान दिने सहिदहरुको सूची लामो छ। अधिकार प्राप्तिका लागि भएका पटक–पटकका आन्दोलनमा दर्जनौं व्यक्तिले बलिदानी दिए। २०५७, २०६४ र २०७३ को मधेस आन्दोलन तथा ०६२/६३ को दोस्रो जनआन्दोलन लगायतमा ज्यान गुमाएका सहिदका परिवारले अहिलेसम्म सन्तोष गर्ने ठाउँ पाएका छैनन्। सरकारले सहिद घोषणा गर्दा दिएको दस लाख र बेलाबखत पाउने केही राहतका प्याकेज बाहेक स्थायी व्यवस्थाका लागि कुनै पहल भएको छैन।
गरेका वाचा र देखाएका सपना अनुसार देश र जनताका लागि उपलब्धिमूलक काम नहुँदा १० वर्षे द्वन्द्वबाट पीडित परिवारमा पनि वितृष्णा जागेको छ। जनयुद्धको बेला सप्तरीको फत्तेपुर गाविस (हाल सप्तकोसी नगरपालिका) बाट ५ जनालाई सेनाले निर्मम तरिकाले मारेको थियो भने एक जनालाई बेपत्ता बनाएको थियो। ती ६ जना नै माओवादीका कार्यकर्ता थिए।
माओवादीहरुले आफ्नो सत्ता आएपछि सहिद परिवारलाई जीविकोपार्जनका लागि सक्दो सहयोग गर्ने भने पनि अहिलेसम्म वाचा पूरा गर्न नसकेको पीडित परिवारहरु गुनासो गर्छन्।
‘सत्ता आएपछि त हाम्रो पनि दिन आउला भनेर भोक, अभाव गरिबीसँगै जीवन बितायौं। तर त्यसो हुन सकेन', सप्तकोसी नगरपालिका ५ की पूर्णिमा तिम्सिनाले भनिन्।’
२०५८ फागुन १९ गते भगनी मलेठको डेरीमा दूध पुर्याउन गएका उनका पति द्वारिकाप्रसाद तिम्सिनालाई प्रहरीले बाटैबाट अपहरण गरेर लगेको थियो। यत्तिका वर्ष भइसक्दा पनि उनले पतिको अवस्थाबारे कुनै जानकारी पाउन सकेकी छैनन्।
पञ्चायत विरोधी आन्दोलनमा लागेको आरोपमा ३० वर्षभन्दा अघि राज्य पक्षबाट बेपत्ता बनाइएका सप्तकोसी नगरपालिका १ फत्तेपुरका दिलीप चौधरीको अवस्था अहिले पनि अज्ञात छ। छोरो फर्किने आसमा रहेकी आमा कुमरवतीदेवीको ९० वर्षको उमेरमा प्राण गयो। खानपिनदेखि मलमूत्रसम्म ओछ्यानमै गर्ने कुमरवतीको एउटै प्रश्न हुन्थ्यो– ‘दिलीप आयो?’ मर्ने बेलामा पनि बेहोसीमै उनले छोराको नाम लिएको दिलिपका साथी वुदुर चौधरी बताउँछन्।
बमकाण्डमा सहभागी भएको आरोपमा ०४२ सालमा पक्राउ परेका दिलीपको अवस्था हालसम्म अज्ञात छ। राजधानीको अन्नपूर्ण होटल, सिंहदरबार र नारायणहिटी दरबारनजिक भएको बम विस्फोटको तीन दिनपछि पक्राउ परेका उनलाई सदरखोर डिल्लीबजारबाट बेपत्ता पारिएको उनका साथी खिलानाथ लेखी बताउँछन्।
मरेको भए पुष्टिसहित सहिद घोषणा हुनुपर्ने, अन्यथा खोजतलास गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।