सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्किएका छन्।
उनले साताभरमा गृहजिल्ला कालिकोटका विभिन्न ठाउँमा घुमी आयोजनाहरुको अनुगमन र स्थानीयसँग भेटघाट गरे।
मंगलबार मुख्यमन्त्री शाहीले कालिकोटबाट फर्कदै गर्दा दैलेखमा नेपाल विद्युत प्राधिकरणको दैलेख कालिकोट विद्युत प्रशारणलाईन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरी सहितको टोलीसँग कालिकोट जुम्ला विद्युत प्रशारणलाइन विस्तारको प्रगतिको अवस्थाको बारेमा छलफल गरेका छन्।
मुख्यमन्त्री शाहीले ६ महिनाभित्रै कालिकोटमा राष्ट्रिय प्रशारणलाइनको विद्युत सेवा उपलब्ध गराउन आयोजना प्रमुख चौधरीलाई निर्देशन दिए।
छलफलमा आयोजना प्रमुख चौधरीले विद्युत प्रशारणलाइन विस्तारको कार्य तीव्रताका साथ अघि बढेको र बिचमा पर्ने केही रुख कटान तथा कालिकोट सदरमुकाम मान्मामा सबस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिए।
त्यस लगत्तै मुख्यमन्त्री शाहीले कालिकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका मेयरलाई टेलीफोन गरेर सवस्टेशनको लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरेका थिए।
आयोजना प्रमुख चौधरीले सबस्टेशन निर्माणको कार्य जारी रहँदा पनि ११ केभिए क्षमताको विद्युत सेवा उपलब्ध गराउन सकिने बताउँदै ६ महिनाभित्र कालिकोट सदरमुकाम मान्मामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।