सुर्खेत– माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ६ बाट ८ पदका लागि १२ जनाको उम्मेदवारी परेको छ।
नेकपा एमालेबाट पाँच, नेपाली कांग्रेसबाट चार र नेकपा माओवादी केन्द्रबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश ६ मा स्थानीय तहको १ सय ५८ र प्रदेशसभा ४० गरी १ सय ९८ मतदाता छन्। ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ।
यो प्रदेशमा पहिलो दल बनेको एमालेले प्रत्यक्षतर्फ १४ र समानुपातिकतर्फ ६ गरी २० जना प्रदेशसभा सदस्य जितेको छ। प्रदेशसभा सदस्यको जम्मा मतभार ९ सय ६० हुनेछ। स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एमालेका ५८ जना मतदाता छन्। स्थानीय तहमा उनीहरूको मतभार १ हजार ४४ हुन आउँछ।
त्यसैगरी माओवादी केन्द्रको प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ जना प्रदेशसभा सदस्य छन्। उनीहरूको ६ सय २४ मतभार हुन आउँछ। स्थानीय तहमा ५१ जना मतदाता छन्। स्थानीय तहका मतदाताको ९ सय १८ मतभार हुन आउँछ। एमाले र माओवादीले गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुने भएकाले प्रदेश ६ मा वाम गठबन्धनको ३ हजार ५ सय ४६ मतभार हुन आउने देखिन्छ।
कांग्रेसले प्रत्यक्षमा १ र समानुपातिक ५ गरी ६ जना प्रदेश सदस्य जितेको छ। जसको मतभार २ सय ८८ छ। स्थानीय तहमा कांग्रेसका ४१ जना मतदाता छन्। स्थानीय तहको मतदातालाई १८ ले गुणा गर्दा कुल मतभार १ हजार २६ हुन आउँछ। यस प्रदेशमा राष्ट्रियसभा जित्न एक जनाले १ हजार १ सय ६६ मत ल्याउन आवश्यक हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।