काठमाडौं– दरबारमार्गको ल्याण्डमार्क होटलमा युवतीमाथि भएको भनिएको सामूहिक बलत्कार घटना रहस्यमय बन्दै गएको छ। पीडित भनिएकी युवती बेपत्ता भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी र इन्सपेक्टरमाथि छानिबन सुरु भएपछि युवती बेपत्ता भएकी हुन्।
बलात्कार जस्तो गम्भीर मुद्दा आर्थिक चलखेलमा मिलाइएको भन्दै छानबिन सुरु भएको हो।वृत्तका डिएसपी तिलक भारतीय र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि परिसरले छानबिन थालेको हो। इन्सपेक्टर ठकुरीलाई दरबारमार्गबाट हटाएर प्रहरी मुख्यालयले सोधुपुछ थालेको छ।
बिहिबार दरबारमार्गकै ल्याण्डमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार भएको थियो। पीडित युवती उजुरी लिएर प्रहरीमा गएपनि प्रहरीले अनुसन्धान नगरी मिल्न दबाब दिएको थियो। अभियुक्तहरु पैसावाल भएकाले उनीहरुले पीडित किशोरी तथा प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेर केस मिलाएका हुन्।
घटनाबारे थाहा पाएपछि महानगरीय प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा सोमबार छानबिन समिति गठन गरेको छ। बलात्कार मुद्दा मिलाइएको सूचना आएपछि छानबिन थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रबिन्द्र धानुकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।