काठमाडौं– राजनीति शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस नेता-कार्यकर्ताहरुले मंगलबार सडकमै जुत्ता पालिस गरेका छन्।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर जुत्ता पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता पालिस गरका थिए।
सडकमा उत्रिएर जुत्ता सफा गर्नुपर्ने बाध्यता किन पर्यो त?जुत्ता पालिस कार्यक्रममा सहभागी कांग्रेस नेता चन्द्रप्रकाश भण्डारीसँग नेपाल लाइभले प्रतिक्रिया मागेको छ। उनको भनाइ उनकै शब्दमा–
जुत्ता पालिस कार्यक्रम कृष्णप्रसाद प्रतिष्ठानले आयोजना गरेको हो। जुत्ता पालिस नै किन त भन्नेमा एउटा सन्दर्भ छ।
किशुनजीलाई बाल संगठनका महेश खरेलहरुले चुनावको मुखमा के सहयोग गर्न सकिन्छ भन्ने सुझाव माग्न जाँदा जुत्ता पालिसको कुरा उठेको थियो। किशुनजीले तिमीहरुको नजिक दलितहरु छन्, गरिबहरु छन्, सुकुम्बासीहरु छन्, ती बच्चाहरुलाई पढाउन सहयोग गर भन्नुभएछ। उनीहरुले पैसा छैन; जुटाइदिनुस् भनेपछि किशुनजीले एकैछिन सोचेर तिमीहरुको दिउँसो काम छैन, न्युरोड जाऊ र जुत्ता पालिस गर अनि जम्मा भएको पैसाले बच्चा पढाऊ भन्नुभएछ।
तर आज हामीले पार्टी शुद्धीकरणको लागि प्रतीकात्मक रुपमा कार्यक्रम सञ्चालन गरेका हौं। अहिले पार्टी भ्रष्ट भयो। चुनावमा प्रतिस्पर्धा गर्नका लागि ठेकेदार र पैसावाल हुनुपर्ने बाध्यता छ। अन्यले चुनावमा उठ्न र जित्नै सक्दैन।
बिपीको विचार र अहिलेको डनहरुलाई भागबन्डा, सुवर्ण शमशेरको दानवीरता र अहिलेको ठग प्रवृत्ति, किशुनजीको राष्ट्रियताप्रतिको अठोट र अहिलेको नागरिकता बेचेर खाने प्रवृत्ति, गणेशमानजीको त्याग समर्पण र अहिलेको लुट्ने प्रवृत्ति। यस्तो भइरहेपछि प्रतीकात्मक रुपमा केही त सुरुवात गर्नैपर्छ भनेर गरिएको हो।
यस्ता प्रवृत्ति खास पार्टी विशेषमा मात्रै नभइ सबै पार्टीमा देखिन्छ। कांग्रेस एमाले र माओवादी भन्ने नै छैन। तीदिनमा फरक हुन्, रातमा एकै हुन्। यस्ता कुरामा कुनै शंकै गर्नुपर्दैन। रातमा ठेकेदार एउटै हुन्, कानुनविद् एउटै हुन्। स्कुल र कलेज व्यवसायी एउटै हुन्। डनहरु एउटै हुन्।
यसरी जुत्ता सफा गर्दैमा पार्टी पनि सफा हुन्छ नै भन्ने त होइन। तर, प्रतीकात्मक रुपमै भए पनि हामीले केही त गर्नैपर्छ। हामीले नगरे कसले गर्ने त? कसैले न कसैले त गर्नैपर्छ।हामीले केही गरे पो नयाँ पुस्ताले राम्रो कांग्रेस देख्न पाउलान्, राम्रो देश देख्न पाउलान्।
यो मात्रै होइन, पार्टी शुद्धीकरणका अन्य अभियान पनि चलिरहेका छन्। पार्टीका भ्रातृ संगठनमा आबद्ध धेरै साथीहरुले यो अभियान सञ्चालन गरिरहनुभएको छ। यसले कांग्रेसलाई मात्रै होइन, अन्य पार्टीलाई पनि शुद्धीकरणको लागि दबाव पर्छ।
अभियान जारी रहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।