काठमाडौं- चीनका राजदुत होउ यान्की र अर्थमन्त्री डा. युवराज खतिवडाबीच भेटवार्ता भएको छ। बुधबार अर्थमन्त्रालयमा भएको भेटमा चिनियाँ राजदूत यान्कीले चिनीयाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा चासो राखेकी थिइन्। सोही भेटका क्रममा तत्कालका लागि काठमाडौं-कोदारी, काठमाडौं-रसुवागढी र कोरला नाका मार्फत आवागमन बढाउने विषयमा छलफल भएको थियो।
काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनीया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारे समेत भेटघाटका अवसरमा छलफल भएको थियो।
त्यसैगरी बुधबारै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका महामहिम राजदूत एम.एस. भिरोनिका कोडी बीच समेत भेटघाट भएको छ।
भेटमा नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।