काठमाडौं- नेपाल धितोपत्र बोर्डको विज्ञ सदस्यमा भीष्मकुमार ढुंगाना नियुक्त भएका छन्।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका ढुंगानालाई अर्को नियमनकारी निकाय धितोपत्र बोर्ड पठाइएको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गरी ढुंगानालाई धितोपत्र बोर्डको विज्ञ सदस्य बनाएका हुन्।
ढुंगानालाई रेवतबहादुर कार्कीको पदावधि सकिएपछि बोर्डको अध्यक्षका रूपमा हेरिएको छ।
खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा ढुंगाना विदेशी विनिमय व्यवस्थापन विभागमा निर्देशक थिए।
बढुवा भएपछि ढुंगाना त्यही विभागमा कार्यकारी निर्देशक बने।
राष्ट्र बैंकमा चिरञ्जीवी नेपाल गभर्नर भएपछि ढुंगानालाई संस्थागत योजना विभागको जिम्मेवारी दिइएको थियो।
ढुंगानाले अन्तिममा विदेशी विनिमय व्यवस्थापन विभागबाट अवकाश पाएका थिए।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा स्रोतले ढुंगानाको नियुक्तिको पुष्टि गरेको छ। उनले पत्र भने बुझिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।