काठमाडौं- उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा बुधबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४ सय १७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसाबले पनि महत्वपूर्ण रहेको बताएका थिए। जापान र नेपालबीच पुरानो र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलसिङगाडसम्म जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह गरे।
भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा अध्ययन गरिरहेको जानकारी दिए। उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए।
जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफूले अपिल गर्ने बताएका थिए।
राजदूत साइगाले भारत र वङगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चांसो व्यक्त गरेका थिए। जवाफमा मन्त्री पुनले भारतसँग क्रस बोर्डर ट्रेडको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको बिजुली भारतमा निर्यात भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।