काठमाडौं- भारित औसत विधिबाट पुँजीगत लाभकर गणना गर्दा पुँजीबजारलाई खासै असर नपर्ने भन्दै धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई जवाफ पठाएको छ।
अर्थ मन्त्रालयले पुँजीगत लाभकर तिर्ने विषयले सेयर कारोबारमा अनिश्चितता सिर्जना भएको विषयमा वास्तविकता बुझेर जवाफ दिन धितोपत्र बोर्डलाई लेखी पठाएको थियो। अर्थ मन्त्रालयको पत्रको जवाफ फर्काउँदै बोर्डले कर निर्धारणको विषय आफ्नो क्षेत्राधिकार नभएको तथा पुँजीगत लाभकरका सम्बन्धमा भएको पछिल्लो व्यवस्थाले पुँजीबजारलाई कुनै असर नपारेको जनाएको हो।
बोर्ड स्रोतका अनुसार अर्थ मन्त्रालयले पत्र काटिसकेपछि बोर्डको सञ्चालक समिति बैठकमा यो विषय राखिएको थियो। साथै बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएससी एन्ड क्लियरिङ लिमिटेडलाई पनि बोलाएर छलफल गरेको थियो।
‘नेप्सेको तथ्यांक हेर्दा नयाँ व्यवस्था लागू भएपछि पनि पुँजीबजार सामान्य तरिकाले चलिरहेको छ। कारोबार पनि घटेको छैन, बढेकै अवस्थामा रहेको छ। भनेपछि त त्यहाँ समस्या नै रहेनछ भन्ने देखियो,’ स्रोत भन्छ, 'हाम्रो करको नीतिअनुसार भएको व्यवस्थालाई नै निरन्तरता दिने भन्दै मन्त्रालयलाई जवाफ फर्काएको थियो। काम पनि त्यही अनुसार नै भइरहेको छ।’
अर्थ मन्त्रालयले करको विषयलाई धितोपत्र बोर्डमा पुर्याएर पन्छाउन खोजे पनि बोर्डले भने अहिले लागू भइरहेको व्यवस्थाले खासै समस्या नरहेको भन्दै यही कर प्रणाली लागू गर्न सकिने जवाफ पठाएको छ।
‘समस्या कहाँ कसरी पन्छाएर चोखिन सकिन्छ भन्ने मात्र हो। बोर्डले पनि विस्तृत रुपमा अध्ययन गर्यो। विवरणहरु खोज्यो। अहिले पनि कारोबार भइरहेको छ। एक महिना नै भइसक्यो धेरै ठूलो समस्या हामीकहाँ आइसकेको छैन,’ बोर्ड स्रोतले भन्यो।
बोर्डले सिडिएससी एन्ड क्लियरिङ लिमिटेडलाई लाई कुनै सफ्टवेयर प्रणाली विकसित गरेर तथ्यांक सजिलै गणना गर्न सक्ने गरी काम गर्न पनि निर्देशन दिएको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।