काठमाडौं- वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायीको अनुमति दिने प्रक्रिया दुई महिनाका लागि रोकिएको छ।
संघीय संसद अन्तर्गतको अर्थ समितिले पुँजी बजार तथा मुद्रा बजार र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्नका लागि भन्दै उपसमिति गठन गरेपछि यो काम तत्कालका लागि रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।
‘अर्थ समितिबाट साउन ३० गते प्राप्त भएको पत्रको भावनाअनुसार उक्त उपसमितिको प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्नेगरी हाललाई वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया स्थगित राख्ने निर्णय भएको छ,’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ।' भदौ २ गते बसेको नेप्सेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो।
मुद्रा बजार तथा पुँजी बजार र वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न गठित उपसमितिलाई प्रतिवेदन बुझाउन २ महिना समय दिइएको छ। प्रतिवेदन आउनै २ महिना समय लाग्ने भएपछि उक्त समयका लागि ब्रोकर लाइसेन्स दिने प्रक्रिया पनि रोकिएको हो।
१९ वटा वाणिज्य बैंकले सहायक कम्पनी खोलेर धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृति लिइसकेका छन्। नेप्सेले साउन १७ गते सूचना प्रकाशित गर्दै वाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्ने अनुमति पत्रका लागि निवेदन मागेको थियो। नेप्सेको उक्त सूचनापछि डेढ दर्जनभन्दा बढी वाणिज्य बैंकले धितोपत्र ब्रोकर लाइसेन्स लिनका लागि सहायक कम्पनी खोल्न राष्ट्र बैंकमा निवेदन दिएका हुन्।
राष्ट्र बैंकबाट सहायक कम्पनी खोल्ने स्विकृति पाएसँगै त्यस्ता कम्पनीलाई नेप्सेले पनि गत साउन १७ गते सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा दर्ता हुन आउन भनेको थियो।
धितोपत्र सम्बन्धी ऐन २०६३ तथा धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ ले धितोपत्रको सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि आवेदन दिने वाणिज्य बैंकका सहायक कम्पनीहरुको निर्धारण गरेको छ। ब्रोकर लाइसेन्स लिनका लागि खोलिएका सहायक कम्पनीमा कम्पनीमा वाणिज्य बैंकको शतप्रतिशत लगानी हुनुपर्ने तथा चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ।
त्यसैगरी, वाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्ययसाय गर्नका लागि नेपाल राष्ट्र बैंकबाट स्विकृति लिएको हुनुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार १९ वटा वाणिज्य बैंकले सहायक कम्पनी खोल्नका लागि स्विकृति लिएका हुन्।
यसरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्र व्यवसाय सम्बन्धी कार्य गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएका बैंकहरुमा एनआइसी एसिया बैंक, सानिमा बैंक, मेगा बैंक, जनता बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंक छन्। त्यसैगरी, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्र्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक र सिभिल बैंक रहेका छन्।
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, स्टान्डर्ड चार्टर्डस् बैंक र प्राइम बैंकले हालसम्म पनि धितोपत्र व्यवसाय सम्बन्धी कार्य गर्न सहायक कम्पनी खोल्नका लागि स्विकृति माग नगरेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।