सोल- उत्तर कोरियाले दक्षिण कोरियासँग संयुक्त रुपमा हिस्सा लिने भनिएको सांस्कृतिक कार्यक्रम रद्द गरिदिएको छ।
आगामी महिना दक्षिण कोरियाले आयोजना गर्न लागेको शीतकालिन ओलम्पिककै अंगको रुपमा रहनेगरि उत्तर कोरियाको माउन्ट कुमगांगमा हुन लागेको सांस्कृतिक कार्यक्रम उत्तरले रद्द गरिदिएको हो। सो कार्यक्रम फेब्रुअरी ४ मा हुने तय भएको थियो।
उत्तरले एक टेलिग्राम पठाउँदै दक्षिणमा पक्षपाती र अपमानजनक मिडिया कभरेज गरिएको आरोप लगाएको छ।
उता उत्तरको सो निर्णयलाई दक्षिणले निन्दनिय भनेको छ। यसअघि जुन कार्यका लागि सम्झौताहरु भएका छन् ति सबैलाई उत्तरले पालना गर्नु पर्नेमा दक्षिणले जोड दिएको छ।
ओलम्पिकको अघिल्लो दिन उत्तरले आयोजना गर्न लागेको सैन्य परेडलाई लिएर भएको मिडियाबाजीप्रति उत्तर कोरिया असन्तुष्ट रहेको दक्षिण कोरियाको एकता मन्त्रालयलाई उदृत गर्दै योनहाप न्युज एजेन्सीले जनाएको छ।
तथापि उत्तर र दक्षिणबिच सुध्रिन लागेको सम्बन्ध बिस्तारमा उत्तरको परमाणु कार्यक्रमलाई लिएर भएको अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन हुने हो कि भन्ने चिन्ता प्रकट भएको थियो। त्यसकारण सांस्कृतिक कार्यक्रमका दौरानमा माउन्ट कुमगांगसम्म पुग्ने आफ्ना स्काइरिजहरुको विमान भाडा आफुले तिर्न असमर्थ हुने दक्षिणले जनाएको थियो।
यसअघि उत्तर र दक्षिणका बिचमा विभिन्न चरणमा भएका वार्तामा उत्तर शितकालिन ओलम्पिकमा सहभागि हुने सहमति भएको थियो।
सहमतिअनुसार दुवै राष्ट्र एकिकृत झण्डामुनि मार्चपास गर्ने, महिला आइस हक्की टोलीमा दुवै देशका खेलाडि सामेल हुने तथा विभिन्न सांस्कृतिक कार्यक्रममा उत्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुति देखाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।