बुटवल- आगामी माघ २१ गते हुने प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठकको तयारी तीव्र बनाइएको छ। प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको ७ दिनपछि माघ २१ का लागि बैठक बोलाएका हुन्।
बुटवल उद्योग वाणिज्य संघको सभाहलमा हुने बैठकको तयारीका लागि हल व्यवस्थापनका काम सोमबारबाट सुरु भएको हो। मन्त्रालय व्यवस्थापनका लागि आवश्यक स्थानको खोजी पनि गरिएको छ। मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय, अख्तियार र तापतौल कार्यालयको भवनमध्ये एउटा प्रयोग गर्ने तयारी छ।
कर्मचारी र भवनको व्यवस्थापन नहुँदा कामकारबाहीमा अन्योल भएकाले चाँडै भवनको टुंगो लगाउन लागिएको मुख्यमन्त्री कार्यालयका सचिव शंकर पाठकले बताए।
प्रदेशसभाको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेसभाको पहिलो बैठक बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ।
संसद बैठकलगत्तै मुख्यमन्त्री चयनको काम सुरु हुनेछ। मुख्यमन्त्री चयन भएपछि मात्रै संसदले काम पाउनेछ। पहिलो बैठकबाट सभामुख चुन्ने प्रक्रियादेखि प्रदेशको स्थायी मुकाम तोक्ने कामसम्म हुनेछन्।
२१ गते हुने पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले गर्नेछन्। शपथ ग्रहणयता उनी सभामुखको हैसियतमा रहेका छन्। । प्रदेश ५ मा प्रत्यक्षतर्फका ५२ र समानुपातिक तर्फका ३५ जना गरी कुल ८७ जना प्रदेशसभा सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।