फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँध (हेडवर्क्स) र सुरुङ (टनेल) निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने निश्चित भएको छ। आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनीलाई १ अर्ब ६५ करोड रुपैयाँमा ठेक्का दिने तय भएको आयोजना प्रमुख सूर्यराज कँडेलले जानरकी दिएका छन्।
उनका अनुसार सुरुङ बनाउन करिब ७५ करोड रुपैयाँ र बाँध बनाउन ९० करोड रुपैयाँमा सिनो हाइड्रोले ठेक्का पाउनेछ। 'आयोजनाको ऋणदाता एसियाली विकास बैंकबाट सुनिश्चितता प्राप्त भएको छ, अब हामी लेटर अफ एक्सेप्टेन्स दिन्छौँ,' कँडेलले नेपाल लाइभसँग भने, 'त्यसपछि ठेक्का पाउने पक्षले बैंक ग्यारेन्टी प्रस्तुत गरेपछि हामी सम्झौतामा जानेछौँ।'
इटालियन ठेकेदार सिएमसी डि रेभेन्ना वित्तीयरुपमा टाट पल्टिएपछि मेलम्चीको काम अधुरै हिँडेपछि आयोजनाको बाँकी काम सम्पन्न गर्न पुन: बोलपत्र आव्हान गरिएको थियो। सिनो हाइड्रोले अनुमानित लागतभन्दा बाँध २९ प्रतिशत कम र सुरुङ १५ प्रतिशत कम लागतमा निर्माण सम्पन्न गर्ने गरी कबोल गरेको कँडेलले बताए।
मेलम्चीको काम सम्पन्न गर्न सिनो हाइड्रोसँगै नेपाली निर्माण व्यवसायीहरु हाइ हिमालय हाइड्रो र रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रम (जोइन्ट भेन्चर)ले पनि आवेदन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।