काठमाडौं- राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं–ओसाका( जापान) उडान भदौ १२ गतेबाट हुने निश्चित भएको जानकारी दिएको छ।
जुलाइदेखि उडान अनुमति लिन खोजे पनि यात्रु अभावका कारण उडान हुने नसकेको भन्दै उडान भदौ १२ गते बाट कुनै पनि अवस्थामा स्थगित नहुने जनाएको छ।
एयरबस ३३०-२०० सिरिजको जहाजमार्फत् ओसाका उडान गर्न लागेको निगमले सातामा तीन वटा उडान गर्ने जनाएको छ।
वाइडबडी जहाजमा दुई सय ७४ सिट क्षमता भएपनि ५० प्रतिशत अकुपेन्सीमा जहाज उडने निगम अध्क्षय खरेलको दाबी छ।
‘पहिलो उडानमा ५० प्रतिशत बुकिङ हुनु राम्रो हो,' उनले भने, ‘हाम्रो लक्ष्य भने ८५ प्रतिशतसम्म हो।’
तर पहिलो उडानमा आजसम्म नेपालबाट ओसाका जाने ८० जना र ओसाकाबाट ४० जनाले मात्रै टिकट बुकिङ गरेको निगमको भनाइ छ।
सेप्टेम्बर महिनाभर निगमको जापान उडानमा घाटा हुने र त्यसपछि मात्र क्रमशः यात्रु संख्या बढ्ने उनको अनुमान छ।
तर, निगम स्रोतका अनुसार उडान सुरु नै नहुँदै बुकिङको अवस्था हेरेर सप्टेम्बर महिनामा सातामा दुई वटा मात्रै उडान गर्ने तयारी भएको छ।
निगमले सन् १९९४ देखि २००७ सम्म ओसाका उडान गरेको थियो।
विगतमा बोइङ-७५७ जहाजमार्फत् चीनको सांघाई ट्रान्जिट राखेर उडान भरको थियो।
पछि जहाज अभाव र संचालन खर्च बढेपछि उडान रोक्ने निर्णय गरेको थियो। साथै निगमले जनवरीदेखि जापानको नारिता समेत उडान गर्ने तयारी गरेको खरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।